१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नेसनल मेडिकल कलेजका ५५ आवासीय चिकित्सक आन्दोलनमा



वीरगन्ज-नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका ५५ आवासीय चिकित्सक १३ दिनदेखि आन्दोलनमा छन् । अस्पताल प्रशासनले कारबाही गर्दै होस्टलबाट निकाल्न खोजेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आवासीय चिकित्सकका अनुसार अस्पतालले उनीहरूलाई प्रवेशमा रोक लगाउने, सेवा–सुविधा नदिने र फोनमार्फत अध्ययन छाड्न दबाब दिने गरेको छ । यसअघि अस्पतालले १२ घण्टे अल्टिमेटम दिए पनि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को निर्देशनपछि तत्काल पछि हटेको थियो ।

मेडिकल शिक्षाको स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत चिकित्सकहरूले आफू प्रक्रियाबाटै भर्ना भएको भन्दै बीचमै हटाउन खोजिएकोप्रति आपत्ति जनाएका छन् । उनीहरूले निर्वाह भत्ता पूरा नदिएको र अध्ययनको वातावरणसमेत सहज नभएको गुनासो गरेका छन् ।

अस्पतालले भने कलेजको विषय बाहिर लगेको आरोपमा आवासीय चिकित्सकमाथि कारबाही अघि बढाएको जनाएको छ । सातजना चिकित्सकविरुद्ध जिल्ला अदालतमा मानहानीको मुद्दासमेत दायर भएको छ ।

अस्पतालका प्रवक्ता प्रदीप अधिकारीले विवादको टुंगो डिन कार्यालयबाट लाग्ने बताए । उनका अनुसार आवासीय चिकित्सकसम्बन्धी विषय डिन कार्यालयमा पुगिसकेको छ । ‘हामीसँग सहमति भएको छैन, सात जनाविरुद्धको मुद्दा कायमै छ,’ उनले भने ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार ००:००  १२ : ४८ बजे