१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चुनावपछि स्थानीय तहको संख्या घटाउने तयारी



काठमाडौं-सरकारले स्थानीय तहको संख्या र सिमाना पुनरवलोकन गर्ने तयारी थालेको छ । आवश्यकताअनुसार गाउँपालिका तथा नगरपालिका एकआपसमा गाभ्न र वडाको सिमाना फेरबदल गर्न सक्नेगरी सरकारले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरवलोकनसम्बन्धी मापदण्ड-२०८३’ तयार गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार मापदण्ड ७७ वटै जिल्ला समन्वय समिति, प्रदेश सरकार र स्थानीय तहमा पठाइसकिएको छ । स्थानीय तहबाट प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया अघि बढाइने उनले बताए ।

स्थानीय तह निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि संख्या हेरफेर गर्न नसकिने कानुनी व्यवस्था रहेकाले आगामी स्थानीय तह निर्वाचनलगत्तै संख्या पुनरवलोकन गर्ने सरकारको तयारी छ ।

हाल देशभर ७५३ स्थानीय तह छन् । सरकारले संख्या बढाउन नसकिने तर दुई वा बढी स्थानीय तहलाई एकआपसमा गाभेर संख्या घटाउन सकिने जनाएको छ । हाल ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

मापदण्ड पूरा गरेका गाउँपालिका नगरपालिका, नगरपालिका उपमहानगरपालिका र उपमहानगरपालिका महानगरपालिकामा स्तरोन्नति हुन सक्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार ००:००  १२ : ४० बजे