२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

बाह्रदशीका सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान हुने



झापा– विद्यालय परिसरमा बढ्दो लागूऔषध दुर्व्यसन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न झापाको बाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान अभियान सुरु गरेको छ ।

अभियानको पहिलो चरणमा बाह्रदशी-२ स्थित भगवती आधारभूत विद्यालयमा चार वटा सिसी क्यामेरा जडान गरिएको छ। गाउँपालिकाका सबै १६ सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा विस्तार गरिने भएको छ ।

स्थानीय युवा व्यवसायी तथा विद्यालयका पूर्वविद्यार्थी चान मोहम्मदको सहयोगमा सुरु भएको अभियानको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सिसी क्यामेरालाई ‘बिनावर्दीको प्रहरी’को संज्ञा दिँदै विद्यालयलाई लागूऔषधमुक्त र सुरक्षित बनाउन प्रविधिले प्रभावकारी भूमिका खेल्ने बताइन् ।

विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीले विद्यालय समयबाहिर लागूऔषध सेवन, अवाञ्छित जमघट र विद्यालयको सम्पत्तिमा क्षति पुग्न थालेपछि अभियान सुरु गरिएको बताए । वडाध्यक्ष भीमबहादुर कार्कीले अभियानलाई गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा विस्तार गरिने जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार ००:००  ८ : ५३ बजे