१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

चिल्लागढधाममा संस्कृत पाठशाला सञ्चालनको तयारी



शिवसताक्षी– झापाको शिवसताक्षी नगरपालिका–९ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र चिल्लागढधाममा संस्कृत पाठशाला सञ्चालनको तयारी गरिएको छ । चिल्लागढधाम परिसरको भिमेश्वर शिवालय मन्दिरमा आगामी असोज १६ गतेदेखि संस्कृत गुरुकुल पाठशाला सञ्चालनमा ल्याउन लागिएको हो ।

भिमेश्वर शिवालय मन्दिरको पहलमा सुरु गर्न लागिएको पाठशालाको उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले गर्ने तयारी छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिननाथ खतिवडाका अनुसार असोज १६ गते साँझ ७ बजे पाठशालाको औपचारिक उद्घाटन गरिनेछ ।

प्रारम्भिक चरणमा पाठशालामा साँझ ७ देखि ९ बजेसम्म कक्षा सञ्चालन गरिनेछ । महिलाका लागि विशेष रूपमा श्रीमद्भागवत् गीता अध्ययन तथा अन्य सहभागीका लागि संस्कृत भाषा, पूजा–अर्चनाको विधि, पूजन विधान, कर्मकाण्ड र रुद्रीलगायत विषयमा आधारभूत ज्ञान दिइने खतिवडाले बताए ।

उनका अनुसार घरघरमा दैनिक दीप प्रज्वलन, पूजा–अर्चना तथा धार्मिक कर्म गर्ने चलन रहे पनि त्यसको विधि, मन्त्र र प्रक्रियाबारे धेरैलाई पर्याप्त जानकारी छैन । यही आवश्यकतालाई ध्यानमा राखेर स्थानीयलाई संस्कृत भाषासँगै धार्मिक संस्कार र कर्मकाण्डको व्यवहारिक ज्ञान दिने उद्देश्यले पाठशाला सुरु गर्न लागिएको हो ।

‘हामी सबैजसो घरमा दैनिक दियो बाल्छौँ, पूजा गर्छौँ । तर त्यसका लागि आवश्यक मन्त्र, विधि र पूजन विधानबारे धेरैलाई जानकारी हुँदैन,’ खतिवडाले भने, ‘आफ्नै धार्मिक संस्कार र परम्परालाई विधिपूर्वक अभ्यास गर्न सहज होस् भन्ने उद्देश्यले पाठशाला सञ्चालन गर्न लागेका हौँ ।’

पाठशाला सञ्चालनका लागि आवश्यक व्यवस्थापन र बजेटका विषयमा नगरपालिकासँग छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सुरुवाती चरणमा भने अध्यक्ष खतिवडाले नै निःशुल्क अध्यापन गराउनेछन् । सहभागीको रुचि र आवश्यकताका आधारमा आगामी दिनमा कक्षा तथा पाठ्यक्रम विस्तार गर्ने योजना रहेको छ ।

शिवसताक्षीमा यसअघि नै संस्कृत शिक्षासम्बन्धी विभिन्न संस्था सञ्चालनमा छन् । सताक्षीधाममा सताक्षीधाम गुरुकुल तथा माइधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनन्त दर्शन संस्कृत विद्यालय तथा कन्या गुरुकुलमा संस्कृत भाषामा पठनपाठन हुँदै आएको छ ।

चिल्लागढधाममा समेत संस्कृत पाठशाला सुरु हुन लागेको अवस्थामा स्थानीयस्तरमै संस्कृत भाषा, धार्मिक संस्कार र कर्मकाण्डको आधारभूत ज्ञान लिन सकिने वातावरण बन्ने अपेक्षा गरिएको छ । पाठशालाले धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिको विश्वास छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ००:००  ५ : २० बजे