२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

सरकार र संसद्को कार्यशैलीप्रति ‘प्रचण्ड’ को गम्भीर आपत्ति



काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र संसद्को कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सत्तापक्षको मिलेमतोमा संसद् बिचौलियाहरूको चलखेल गर्ने थलो बनेको आरोप लगाउँदै उनले देश बहुआयामिक संकटतर्फ धकेलिएको बताए ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार सुशासन र सामाजिक न्यायको बाटोबाट विचलित भएको टिप्पणी गरे ।

“यदि समयमै गम्भीर समीक्षा गरेर कठोर निर्णयहरू लिइएन भने परिस्थिति भयावह र विस्फोटक बन्न सक्छ,” उनले चेतावनी दिए । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतालाई देखाइएका सपनाहरू वर्तमान सरकारको कार्यशैलीले चकनाचुर पारेको बताए ।

देशमा भ्रष्टाचार, अराजकता र दण्डहीनताले सीमा नाघेको, आम नागरिकले सार्वजनिक सेवा पाउन नसकेको र सीमान्तकृत समुदाय राज्यबाटै उपेक्षित भएको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।

संसदीय प्रक्रियामाथि समेत प्रश्न उठाउँदै प्रचण्डले समितिहरूबाट सर्वसम्मतिले पारित भएका विधेयकहरू समेत सदनमा पुगेपछि स्वार्थ समूहको चलखेल र हस्तक्षेपका कारण रोकिने गरेकोमा खेद प्रकट गरे ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार ००:००  २ : ५५ बजे