झापा– गणितलाई कठिन र डरलाग्दो विषयका रूपमा लिने विद्यार्थीको संख्या अझै उल्लेख्य रहेकाले शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको निष्कर्षसहित बिर्तामोडमा गणित शिक्षणमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगसम्बन्धी तीनदिने प्रशिक्षण सुरु भएको छ ।
बिर्तामोड नगरपालिका र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनको संयुक्त आयोजनामा सुरु भएको प्रशिक्षणमा नगरभित्रका ३० विद्यालयका माध्यमिक तहमा गणित अध्यापन गराउने शिक्षक सहभागी छन । प्रशिक्षणको उद्घाटन बिर्तामोड नगरपालिकाको शिक्षा शाखा प्रमुख तीलचन भण्डारीले गरेका हुन ।
तीनदिनसम्म सञ्चालन हुने प्रशिक्षणमा गणित शिक्षणका नवीन विधि, सूचना तथा सञ्चार प्रविधिको प्रयोग, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उपाय तथा ‘लर्निङ बाइ डुइङ’ (गरेर सिक्ने) विधिबारे अभ्यास गराइने आयोजकले जनाएको छ । सहभागी शिक्षकले आफ्ना विद्यालयमा अपनाइएका असल अभ्याससमेत प्रस्तुत गरिरहेका छन ।
प्रशिक्षणमा पुस्तक लेखक किरणबाबु भट्टराई, विषयविज्ञ कृष्णकुमार सुवेदी र शिक्षाविद् उमेश राजवंशीले सहजीकरण गरिरहेका छन । सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष अभ्यास, समूहगत छलफल, समस्या समाधान तथा डिजिटल सामग्रीको प्रयोगबारे प्रशिक्षण दिइने जनाइएको छ ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख भण्डारीले शिक्षकको निरन्तर क्षमता विकासबिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताए । उनले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न शिक्षकहरूलाई आग्रह गरे ।
प्रशिक्षणका क्रममा शिक्षाविद्हरूले गणित कठिन विषय भएकाले भन्दा पनि परम्परागत शिक्षण विधिका कारण विद्यार्थीमा डर उत्पन्न हुने गरेको धारणा राखेका छन् ।
उनीहरूका अनुसार सूत्र र परिभाषा कण्ठ गराउने अभ्यासभन्दा विद्यार्थीलाई समस्या समाधानमा सहभागी गराउने, प्रयोगात्मक अभ्यास गराउने तथा प्रविधिमार्फत अवधारणा बुझाउने विधि प्रभावकारी हुन्छ।
प्रशिक्षणमा डिजिटल बोर्ड, सिमुलेसन, इन्टरएक्टिभ सफ्टवेयर, मोबाइल एप, भिडियो सामग्री तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट गणित शिक्षणलाई प्रभावकारी बनाउन सकिने विषयमा समेत छलफल गरिएको छ ।
विशेषगरी ज्यामिति, बीजगणित, त्रिकोणमिति र तथ्यांकजस्ता विषयलाई दृश्य सामग्रीमार्फत सिकाउँदा विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने प्रशिक्षकहरूको भनाइ छ ।
आयोजकका अनुसार प्रशिक्षणको उद्देश्य शिक्षकलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिमा अभ्यस्त गराउनु हो ।
प्रशिक्षणपछि सहभागी शिक्षकले सिकेका विधि विद्यालयमा प्रयोग गर्न सके विद्यार्थीको गणितप्रतिको धारणा परिवर्तन हुनुका साथै सिकाइ उपलब्धिमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।



















