८ असार २०८३, सोमबार | Mon Jun 22 2026

झापामा लागूऔषधविरुद्ध अभियान सुरु



झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्तरूपमा ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन गर्नुभएको छ ।

बिर्तामोडमा आयोजित विशेष समारोहबिच अभियान औपचारिक रूपमा सुरु गरिएको हो । कार्यक्रममा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, डीआइजी बिनोद घिमिरे, विद्यार्थी आविष्कार राउतलगायतले आ-आफ्ना धारणा राख्नु भएको थियो । सहभागी वक्ताहरूले लागूऔषध समस्या केवल सुरक्षा चुनौती मात्र नभई सामाजिक समस्या भएको भन्दै रोकथाम र सचेतना अभियानलाई समुदायस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार सीमावर्ती जिल्ला भएकाले झापामा लागूऔषध ओसारपसार तथा प्रयोगकर्ताको सङ्ख्या डरलाग्दोरूपमा बढ्दै गएको छ । उहाँका अनुसार यही अवस्थालाई मध्यनजर गर्दै सरोकारवाला निकायसँगको समन्वय र हातेमालोमा अभियान सुरु गरिएको हो ।

प्रहरीका अनुसार अभियानअन्तर्गत विद्यालय केन्द्रित सचेतना कार्यक्रम, सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश प्रवाह, समुदाय–प्रहरी साझेदारी विस्तार तथा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । साथै, जिल्लाभरका ७१ प्रहरी एकाइलाई परिचालन गरी रोकथाम तथा नियन्त्रण अभियानलाई सशक्त बनाइने जनाइएको छ ।

प्रहरीले लागूऔषध नियन्त्रणलाई कारबाहीसँगै रोकथाम, उपचार र पुनःस्थापनासँग जोडेर अघि बढाइने जनाएको छ। सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाउने तथा अवैध ओसारपसार रोक्न विशेष रणनीति अपनाइनेसमेत उल्लेख गरिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, अभिभावक, युवा समूह तथा सञ्चारमाध्यमको भूमिका निर्णायक हुने सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार ००:००  ७ : ४८ बजे