८ असार २०८३, सोमबार | Mon Jun 22 2026

परियारले सम्हाले सचिवको कार्यभार



बिर्तामोड-नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको आगामी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले कार्यभार सम्हाल्नुभएको छ ।

महासंघको कार्यालयमा आइतबार आयोजित बैठकमा पहिलो डेढ वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएका सचिव राजु पाठकले सचिव पदको जिम्मेवारी तथा माइन्युट परियारलाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाको तीनवर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा सचिव पदका उम्मेदवार पाठक र परियारले समान ९९–९९ मत प्राप्त गर्नुभएको थियो ।

आपसी सहमति तथा निर्वाचन समितिको निर्णयअनुसार पहिलो डेढवर्षे कार्यकाल पाठकले र बाँकी डेढवर्षे कार्यकाल परियारले सम्हाल्ने व्यवस्था गरिएको थियो ।

महासंघका पदाधिकारी तथा सदस्यहरूले सचिवका रूपमा पाठकले निर्वाह गर्नुभएको भूमिका, सक्रियता र योगदानको प्रशंसा गर्दै सफल कार्यकालको बधाई ज्ञापन गरेका थिए ।

महासंघका अध्यक्ष एकराज गिरीले खादा लगाएर पाठकलाई बधाई तथा सम्मान व्यक्त गर्नुका साथै नयाँ सचिव परियारलाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार ००:००  १२ : १५ बजे