८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चिया निर्यातमा देखिएको अवरोध हटाउन झापा उद्योग वाणिज्य संघको आग्रह



भद्रपुर– झापा उद्योग वाणिज्य संघले भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका कार्यवाहक अध्यक्ष राजकुमार राई र महासचिव सुमन मैनालीद्वारा जारी विज्ञप्तिमा नेपालको प्रमुख निर्यातजन्य कृषि वस्तुमध्ये एक चियाको गुणस्तर परीक्षणको नाममा भारतीय पक्षबाट थप अवरोध सिर्जना हुँदा नेपाली चिया उद्योग, निर्यात व्यवसायी, किसान तथा श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख छ ।

विज्ञप्तिमा चियाको उत्पादन र प्रशोधनको मुख्य सिजन सुरु भइसकेको अवस्थामा तयारी चिया निर्यात रोकिँदा उद्योग क्षेत्र गम्भीर समस्यामा परेको जनाइएको छ । संघले यस अवस्थालाई चिया क्षेत्रका लागि चिन्ताजनक भन्दै तत्काल समाधानको पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

संघका अनुसार नेपाल चिया उत्पादक संघको नेतृत्वमा उद्योगीहरूले पटक-पटक सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ प्रभावकारी पहल हुन नसकेको छ । यहीकारण उत्पादक संघ उद्योग बन्द गर्ने घोषणा गर्न बाध्य भएको अवस्थालाई समेत संघले गम्भीर रूपमा लिएको जनाएको छ ।

संघले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई कूटनीतिक, राजनीतिक र प्रशासनिक तहबाट आवश्यक पहल गरी भारतीय पक्षसँग वार्ता तथा समन्वयमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

झापामा निजी क्षेत्रबाट सञ्चालित दुई दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग र सोही संख्यामा ठूला चिया बगान सञ्चालनमा छन । नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबर रहेको छ । नेपाल चिया उत्पादक संघका अनुसार यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार ००:००  ६ : ५८ बजे