शिवसताक्षी– झापाको शिवसताक्षी नगरपालिकाले महिलाहरूको न्यायिक तथा कानुनी सेवामा पहुँच बढाउने उद्देश्यले नगरका विभिन्न टोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाका अनुसार निम्न आय भएका, विपन्न तथा पछाडि पारिएका वर्गका महिलाहरू कानुनी जानकारी र न्यायिक सेवाबाट वञ्चित हुने अवस्थालाई ध्यानमा राख्दै सात स्थानमा पुगेर कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा महिलाहरूलाई अधिकार, कानुनी प्रक्रिया तथा न्याय प्राप्तिका उपायबारे जानकारी गराइएको थियो ।
सहभागी महिलाहरूले अधिकांश महिला लक्षित कार्यक्रम बजार केन्द्रित हुने गरेको र गाउँका महिलाहरूले जानकारी तथा सहभागिताको अवसर कम पाउने गरेको गुनासो गरेका थिए। उनीहरूले गाउँ–टोलमै यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्।
तालिमका क्रममा वडा स्तरमा सञ्चालित मेलमिलाप केन्द्रको भूमिका, न्यायिक समितिको कार्यक्षेत्र तथा विभिन्न विवाद र उजुरी दर्ता प्रक्रियाबारे जानकारी दिइएको थियो। महिला हिंसा, घरेलु हिंसा, अंशबण्डा, मानाचामल, सम्पत्ति अधिकार र बालविवाह सम्बन्धी कानुनी व्यवस्थाबारे पनि छलफल गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै उपप्रमुख तथा न्यायिक समिति संयोजक नरमाया कार्कीले बजार केन्द्रित कार्यक्रमप्रति गुनासो आएपछि गाउँ तथा टोलस्तरका महिलालाई लक्षित गरी बस्तीमै पुगेर कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले महिलालाई कानुनी रूपमा सचेत बनाउन र उनीहरूको आवश्यकता तथा अपेक्षा बुझ्न कार्यक्रम प्रभावकारी भएको उल्लेख गरिन्।
वडा नं. १० का महिलाहरूले आयआर्जनसँग जोडिएका सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् भने वडा नं. ११ का महिलाहरूले सिलाइ–कटाइ तालिमको आवश्यकता औंल्याएका छन्। वडा नं. ८ का महिलाहरूले पनि महिला लक्षित कार्यक्रम गाउँ केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
नगरपालिकाले प्राप्त सुझावका आधारमा आगामी दिनमा गाउँ–टोल केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तथा कानुनी सचेतना, महिला सशक्तीकरण र आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।
शिवसताक्षी मिडिया प्रालिको समन्वयमा आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख छविलाल ढकाल, उजुरी प्रशासक नर्वदा दाहाललगायतले सहजीकरण गरेका थिए।



















