बिर्तामोड- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले पहल गर्नुपर्ने बताउनु भएको छ । अध्यक्ष राउतले व्यसायीलाई प्रोत्साहित गरेमात्रै देशको अर्थतन्त्र बलियो हुने धारणा राख्नु भयो ।
बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले कोभिडपछि देशको अर्थतन्त्र खस्किएको र त्यसमाथि व्यवसायीहरु पलायनको अवस्थामा पुगेकाले उनीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघले लगाएको बिर्तामोड औद्योगिक व्यापार महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्सलाई सम्मान गरिएको छ । उक्त सम्मान एपोलो पेन्ट्सको आधिकारिक बिक्रेता एपोलो कलर हाउस बिर्तामोडका सञ्चालक डिल्लीराम कोइरालाले ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा अग्रज व्यवसायी गणेश मादेनलाई नगद ११ हजार, सम्मान पत्र, दोसल्लाबाट सम्मान गरिएको छ । कार्यक्रममा सम्मानित ब्यक्तित्व मादेनले आफूले प्राप्त गरेको नगद ११ हजार बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक राहत कोषमा हस्तान्तरण गर्नु भएको अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।
















