झापा-प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन जान लागेको हो ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले मङ्सिर २० गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्नु हुनेछ । नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने गरी प्रधानमन्त्री ओली चीन जान लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ जनाको सहभागिता हुनेछ । बेइजिङस्थित नेपाली दूतावासबाट सरकारी प्रतिनिधि मण्डलमा ८ सदस्य थपिने छन् ।
प्रधानमन्त्री ओलीलाई मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्ने कार्यक्रम छ । स्वागतपछि दुईपक्षीय वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनफिङसँग भेट गर्नुहुनेछ ।

















