- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
सुब्रत न्यौपाने
झापा- कोरोना भाइरसको संक्रमणपछि अवरुद्ध भएको झापा गोल्डकपले फेरि निरन्तरता पाउने भएको छ । फूटवलप्रति झापाली खेलप्रेमीको उत्साह फेरि प्रतियोगिताका रुपमा देखिन लागेको हो । फागुन २१ गतेदेखि झापा गोल्डकप सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको छ ।
‘लगभग तयारी सकिनै लाग्यो’, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले भने, ‘रंगशाला पनि खेलाडीले चाहे अनुसारको बनाएका छौँ ।’ प्रतियोगिताका लागि अहिले डोमालाल रंगशालाको स्तरोन्नति गर्ने काम भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र हुँदा खेल सौन्दर्यका रुपमा रहेका दर्शकको सहभागिता हुन नसक्ने भएपछि दुई वर्षदेखि झापा गोल्डकप प्रतियोगिता सञ्चालन हुन सकिरहेको थिएन । संक्रमण दर घट्दै गएपछि यो वर्ष पाँचौ संस्करणको झापा गोल्डकप सञ्चालनको तयारी गरिएको हो ।
मोफसलको प्रतिष्ठित एवम् लोकप्रिय मानिएको झापा गोल्डकपमा सधैँ दर्शकको थामिनसक्नु भीड हुन्छ । खेलप्रेमी दर्शकको उत्साहजनक सहभागिताले प्रतियोगिता सञ्चालन गर्न आयोजकलाई थप हौसला मिल्दै आएको झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरी बताउँछन् ।
अघिल्ला संस्करणमा झै यसवर्ष पनि कम्तीमा १० हजार दर्शक अट्न सक्ने गरी प्याराफिट बनाइएको छ । झापाको भौगोलिक अवस्था र फुटबलप्रतिको लगावलाई समेटेर गोल्डकपको छुट्टै गीत समेत तयार गरिएको छ ।
‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने नारा तय गरेर सञ्चालन हुन लागेको प्रतियोगिताका लागि हात्तीको छावाले फुटबल हान्दै गरेको मस्कट सार्वजनिक गरिएको छ । हात्ती प्रभावित जिल्लाका रुपमा झापाको बद्लिँदो परिचयको पृष्ठभूमिमा झापा गोल्डकपको मस्कट तयार भएको अध्यक्ष बस्नेतले बताए ।
झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित नेपालका ८ र दुई विदेशी गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा यसवर्ष चौधरी ग्रुपले हात हालेको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ्ले बताए । ‘चौधरी ग्रुप उत्पादन नेपाल आइसले झापा गोल्डकपको प्रायोजन गर्ने गरी सम्झौता गरेको छ’, संरक्षक गुरुङले भने ।
झापामा साना ठूला गरी बर्सेनि एक दर्जन फूटवल प्रतियोगिता सञ्चालन हुन्छन् । तर, ती प्रतियोगितामा राज्यका निकायबाट हुने सहयोग नगन्य मात्रै छ । खेलप्रेमीको सामूहिक प्रयासबाट सञ्चालन हुँदै आएको झापा गोल्डकप पनि सरकारी सहयोग र दीगो स्रोत व्यवस्थापनको पखाईमा रहेको अध्यक्ष बस्नेत बताउँछन् ।