काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथिको निलम्बन फुकुवा गरेको छ ।शुक्रबार एन्फाका महासचिवसहित पदाधिकारी टोलीले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गर्दै यसबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई जानकारी गराइने बताए । उनले निलम्बन हटेसँगै नेपाली महिला टोलीको साफ महिला च्याम्पियनसिप सहभागिताको सम्भावना बलियो बनेको उल्लेख गरे ।
“फिफालाई औपचारिक जानकारी गराएपछि विस्तृत विषय सार्वजनिक हुनेछ,” शाहले भने, “निलम्बन फुकुवा भएसँगै महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको बाटो खुलेको छ ।”
राखेपले यसअघि खेलकुद विकास ऐन, २०७७ को दफा २९(२) अनुसार एन्फाले पटकपटक निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै गत चैत ११ गते नेतृत्वमाथि निलम्बनको निर्णय गरेको थियो ।
निलम्बनपछि एन्फा र राखेपबीच विवाद चर्किएको थियो भने फिफाले समेत घटनाक्रमलाई चासोका साथ हेरिरहेको बताइएको थियो ।
















