२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

सिग्देलको ‘मनको कैदी’ प्रकाशित



झापाका पत्रकार तीर्थ सिग्देलद्धारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । २०७६ सालमा प्रकाशित मनोनेट कथासंग्रहपछि त्यही बिधामा अर्को पाइला चालेका सिग्देलको यही साउनमा प्रकाशन भएको पछिल्लो पुस्तक ‘मनको कैदी’ पाँचौ कृति हो । अर्थात्, दोस्रो कथासंग्रह । कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक बिधामा उत्तिकै कलम चलाउन सक्षम सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । उनका किताबमा मान्छेका मनका बारेमा धेरैजसो चर्चा गरेको पाइन्छ ।

स्वयम् लेखक सिग्देल त्यसको कारणबारे भन्छन्, ‘खासमा मान्छे मनद्धारा सञ्चालित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरु परिचालित भएका हुन्छन् । जसले मानिसका इच्छा, कामना, अभिलाषा, रुचि र स्वभावलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौं, उनीहरुको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प र विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रीय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु कैदीसरह जीवन बिताउन बाध्य छन् ।’

मूलतः मनको कैदी त्यही मनको परिधिभित्र लेखिएको कथासंग्रह हो भन्दा हुन्छ, जहाँ संग्रहित १३ वटा कथाहरु सबै मनोबैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारहरुको मेल नै यो कथा संग्रहको सार हो । मान्छे नबुजी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन् ।

त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगको रुपमा लिन सकिन्छ । मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुजाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । समग्रमा मान्छेले मनलाई कसरी लिएको हुन्छ र त्यही मनले चाह्यो भने के सम्म गर्न सक्छ भन्ने यसमा प्रष्ट पारिएको छ । सारा संसारलाई नियन्त्रण गर्ने एक मात्र माध्यम मन हो । मनले चाह्यो भने जेपनि हुन्छ । एकै क्षणमा यहाँ आगो बल्छ र केही क्षणमै युद्ध हुन्छ । सिंगो मानवलाई चलाउने मान्छेको मन हो, जसलाई ठीक ढंगले बुझ्न र बुझाउन सकेमा क्षति कम हुन्छ ।

उनको यसअघि प्रकाशित मनोनेट कथासंग्रह त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरैले मान्छेको मन जित्यो । त्यसपछिको यो किताबमा पनि मनोनेट शैली नै झल्किन्छ । तर, अर्को रुपमा । आज विश्वमा बिभिन्न बादहरु मध्ये जस्तैः फ्रायडबादको चर्चा बढी गरिन्छ । नेपालमा बीपीले यसको प्रयोग गरे । पछि अरु ख्यातिप्राप्त लेखकहरुको किताबमा यसको प्रयोग भएको छ ।

कतिपयले यौन मनोबैज्ञाबिज्ञान वा मनोबैज्ञानिक लेखन शैली भनेका छन् । तर, जसले जे भनेपनि यसरी प्रयोगात्मक रुपमा लेखिएका किताबमा मनोबिज्ञान झल्किन्छ । त्यो प्रयोग यसमा पनि छ । ‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ’, लेखक भन्छन् । मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाहरुको प्रकटीकरण उनकोे लेखाइको मुल पक्ष हो ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ००:००  ५ : ०१ बजे