६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

त्यो झापा भदौ दोस्रो साता बजारमा आउने




बिर्तामोड-
समग्र झापाको इतिहास समेटिएको त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार नामक पुस्तक प्रकाशनमा आउने भएको छ । झापाका पत्रकार एवम् लेखक तीर्थ सिग्देलको आठौं कृतिको रुपमा भदौं दोस्रो सातादेखि यो किताब बजारमा आउन लागेको हो ।

किताबमा झापा जिल्ला गठन भएयताको इतिहास समेटिएको र त्यस कालखण्डको जनजीवन, भोगाई र संघर्षका घटनाहरु समावेश गरिएको लेखक सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकमा १९७२ सालमा मोरंग जिल्लाबाट झापा बनेपछिको यो जिल्लाको इतिहास संकलन गरिएको छ भने औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारसँग सम्बन्धित घटनाहरुका जीवित पात्रहरुका बयान गराइएको छ ।

इतिहास विधाको लेखकको यो तेस्रो पुस्तक हो । यसअघि उहाँका पूर्वको राजनीति र बिर्तामोड उद्भव र विकास प्रकाशित भइसकेको छ । त्यसैगरी आख्यान र गैर आख्यान क्षेत्रमा उत्तिकै कलम चलाउन सक्ने लेखक सिग्देलका जीवनको गति, मनोनेट र मनको कैदी नामक कथासंग्रह, एक दिन समय कथा नामक यात्रा संस्मरण र विर्सिएका सपनाहरु नामको निवन्ध संग्रह प्रकाशित भइसकेको छ ।

लेखकले भन्नुभएको छ, मुलतः यो किताब त्यो कालखण्डको कथा हो, पीडाको आवाज हो, जतिबेला नेपालमा राणा शासनको जगजगी थियो र प्रजातन्त्रका लागि मानिसहरु छट्पटाइ रहेका थिए ।

तराईमा औलो, कालाजार, बिफरको प्रकोप थियो अनि पहाडमा मानिसहरु खान नपाएर मर्ने अवस्थामा थिए । त्यो झापाः औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार किताब त्यही समयको प्रतिविम्ब हो, चित्र हो ।

विगत तीन दशकदेखि सक्रिय पत्रकारितामार्फत् लेखन क्षेत्रमा दह्रो पाइला चालेका सिग्देलले मूलतः अनुसन्धामूलक एवम् ऐतिहासिक पक्षलाई आफ्नो लेखनको आधार बनाएको पाइन्छ । पुस्तक मिडिया रिसर्च सेन्टर एमआरसी बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार ००:००  ११ : ०१ बजे