९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

पहिलोपटक अलैँची प्रकाशित



बिर्तामोड-नेपाल अलैँची व्यवसायी महासंघले पहिलोपटक ‘अलैँची’ नामक पुस्तक प्रकाशन गरेको छ । नेपालको प्रमुख निर्यात योग्य कृषि उत्पादन अलैँचीको विषयमा यथेष्ट जानकारी समेटिएको पुस्तक महासंघ प्रकाशन गरेको हो ।

पुस्तकको शनिबार बिर्तामोडमा आयोजित समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विमोचन गर्नु भयो ।

विश्व बजारमा प्रचुर निर्यात सम्भावना बोकेको कृषिजन्य नगदे बाली अलैँचीका विषयमा महासंघले पहिलोपटक पुस्तक प्रकाशन गरेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनु भयो ।

पुस्तकमा नेपालमा अलैँची उत्पादनको इतिहासदेखि निर्यात प्रवर्द्धन र बजारीकरणसम्मका बहुआयामिक विषय समेटिएका छन् ।

कृषकको हकहित, बजार व्यवस्थापन, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय ब्रान्डिङ र नयाँ बजारको पहिचान लगायतका विषयले समेत पुस्तकमा स्थान पाएका छन् ।

पुस्तकमा महासंघ कसरी जन्मियो भन्ने विषयमा संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरेले लामो आलेख लेख्नु भएको छ । कृषि विज्ञका धारणा पुस्तकमा समावेश गरिएका छन् ।

रोग कीराको प्रकोपका विषयमा समेत विज्ञहरूले पुस्तकमा आफ्नो मत जाहेर गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सरकारले अलैँची सुपर जोनसमेत स्थापना गरेको विषय समावेश छ ।

अध्यक्ष भट्टराईका अनुसार नेपालमा २०४० को दशकदेखि अलैँची व्यवसायिक खेतीतर्फ उन्मुख भएको हो । परम्परागत निर्वाहमुखी बालीका रूपमा रहेको अलैँची अहिले विश्व बजारमा निर्यात भइरहेको छ ।

खोल्साको कालो सुनले परिचित अलैँची मसलाको रूपमा समेत प्रयोग हुन्छ । अलैँची निर्यातबाट नेपालले बर्सेनि सरदर ८ अर्ब भन्दाबढी विदेशी मुद्रा आर्जन गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार ००:००  ८ : ३४ बजे