७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नयाँ वर्षको पूर्वसन्ध्यामा बिर्तामोडमा साहित्य चौतारीको स्रष्टा सम्मान



बिर्तामोड– नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा बिर्तामोडमा साहित्य, कला र संगीतका स्रष्टालाई एकै मञ्चमा उभ्याउँदै सम्मान गरिएको छ।

साहित्य चौतारी बिर्तामोडले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश र भारतको असमबाट आएका सर्जकसहित ६ जनालाई अभिनन्दन गरिएको हो।

साहित्य सिर्जनामा योगदान पुर्‍याएका स्रष्टा तथा उनीहरूका जीवनसाथीलाई समेत समेट्दै गरिएको सम्मानलाई आयोजकले ‘साझा प्रेरणाको कदर’ का रूपमा प्रस्तुत गरेको छ।

अभिनन्दित हुनेहरूमा प्राध्यापक डा. भीमप्रसाद खतिवडा र बेनु काफ्ले, कृष्ण सुवेदी ‘निराकार’ र कल्पना सुवेदी तथा असमका सर्जक विनोद खनाल र पिन्की खनाल छन्।

कार्यक्रमका प्प्रारमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईले साहित्यिक सिर्जनाले समाजलाई मार्गदर्शन गर्ने उल्लेख गरे। प्राज्ञ हरिप्रसाद पौडेलले स्रष्टाको निरन्तरता र सम्मान संस्कृतिको विकास आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न स्रष्टाले कविता, गजल, मुक्तक र सांगीतिक प्रस्तुति दिएका थिए। असमबाट आएका कलाकारहरूको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक हिम्मत नेम्वाङले स्वागत मन्तव्य राखेका थिए भने सचिव तुलसी निरौलाले सञ्चालन गरेका थिए।

स्रष्टाहरूको सम्मानमा नौमती बाजा बजाइएको कार्यक्रमलाई सहभागीहरूले नयाँ वर्षको सांस्कृतिक सुरुवातका रूपमा लिएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार ००:००  ६ : ५१ बजे