बिर्तामोड– प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड-३ सैनिकमोडले आफ्नो २१औँ वार्षिक साधारणसभाका अवसरमा राजवंशीलाई ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।
सामाजिक अगुवा तथा सहकारीका पूर्वउपाध्यक्ष स्व. पर्शुराम सिटौलाको स्मृतिमा स्थापित पुरस्कार सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको सहकारीले जनाएको छ । पत्रकारितामार्फत समाजमा योगदान पुर्याएको भन्दै राजवंशीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
सहकारीका अध्यक्ष होमप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक परिवारका तर्फबाट स्व. सिटौलाकी पत्नी पुण्यवती सिटौला, छोरा शैलेन्द्र सिटौला, प्रमुख अतिथि तथा ज्येष्ठ शेयर सदस्य देवीप्रसाद ओली र सहकारीका सल्लाहकार उमानाथ ओलीलगायतले राजवंशीलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरे ।
पुरस्कृत राजवंशीको व्यक्तित्व र योगदानबारे सहकारीकी सञ्चालक समिति सदस्य टीकामाया लामिछानेले प्रकाश पारेकी थिइन् ।
साधारणसभामा ज्येष्ठ नागरिक खेमनाथ काफ्ले, गोविन्द सिटौला, रानी बास्के र सम्पत्ति राजवंशीलाई सम्मान गरिएको थियो । ऋण कारोबारतर्फ उत्कृष्ट ममता बराइली र बचत कारोबारतर्फ उत्कृष्ट गौतम शाह सम्मानित भए । वर्षको उत्कृष्ट कर्मचारीका रूपमा निशान राई पुरस्कृत भए ।
कार्यक्रममा अध्यक्ष सिटौलाले संस्थाको वार्षिक प्रतिवेदन र लेखा संयोजक अर्जुन न्यौपानेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, सहकारीका प्रमुख सल्लाहकार मोहन शिवाकोटी तथा सल्लाहकार उमानाथ ओली र राजकुमार पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष केशव पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुनकुमार पाठकले गरेका थिए ।
यसैबीच, विराट बहुउद्देश्यीय सहकारीले चालु वर्ष शेयर सदस्यलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सहकारीका व्यवस्थापक रुद्र सिटौलाका अनुसार गत वर्ष ७ प्रतिशत लाभांश वितरण गरिएकोमा यस वर्ष नाफा बढेकाले लाभांश दर दुई प्रतिशत बिन्दुले वृद्धि गरिएको हो ।



















