२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

बिर्तामोडका १० वटै वडामा रास्वपाको परिषद् भेला, स्थानीय चुनावको तयारी तीव्र



बिर्तामोडका १० वटै वडामा रास्वपाको परिषद् भेला, स्थानीय चुनावको तयारी तीव्र

झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा वडा परिषद् भेला सम्पन्न गरेको छ । असोज २१ गते वडा नम्बर ३ बाट सुरु भएको भेला असोज २३ गते सम्पन्न भएको हो ।

स्थानीय तहको निर्वाचनको तयारीस्वरूप रास्वपाले वडा तहसम्म संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिएको छ । पार्टीले सांसद तथा केन्द्रीय सदस्यहरूलाई समेत जिल्ला–जिल्लामा खटाएर ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरिरहेको छ । यही अभियानसँगै स्थानीय तहमा संगठन निर्माण र निर्वाचन केन्द्रित गतिविधिलाई अघि बढाइएको पार्टीका स्थानीय नेताहरूले बताएका छन् ।

बिर्तामोडका १० वटै वडामा परिषद् भेला सम्पन्न हुनुलाई रास्वपाले नगरस्तरमा संगठन विस्तारको अभियानका रूपमा अघि बढाएको छ । टोल-टोलसम्म पार्टीको पहुँच पुर्‍याउने, वडा तहका संगठनलाई व्यवस्थित बनाउने र आगामी निर्वाचनका लागि कार्यकर्तालाई परिचालन गर्ने उद्देश्यले भेला आयोजना गरिएको नगर समितिका सचिव सृजन अधिकारीले बताए ।

भेलाको नेतृत्व नगर सभापति दीपक दाहालले गरेका थिए । भेलालाई सफल बनाउन अनुशासन विभाग प्रदेश समिति उपप्रमुख अर्जुन उप्रेती, प्रदेश समिति सदस्य गोविन्द भट्टराई, क्षेत्रीय सभापति गोपाल कटुवाल, नगर उपसभापति अनुप निरौला र नगर सचिव अधिकारी सक्रिय थिए ।

त्यस्तै, नगर समिति सदस्यहरू सावित्रा खनाल अधिकारी, अम्बिका राया, ललिता लिम्बू, चन्द्र भट्टराई, रामबहादुर बस्नेत, रोहित न्यौपाने, तीर्थ खतिवडा र बिपिन घिमिरेलगायतले वडा परिषद् भेला सम्पन्न गर्न पहल गरेका थिए ।

भेलामा रास्वपाको र्‍यापिड एक्सन टिम (आरएटी) विभाग झापाका संयोजक डिल्लीराम न्यौपाने, नगरस्तरीय स्वदेश सम्पर्क विभागका प्रमुख बालचन्द्र भट्टराई र नगर आरएटी विभागका संयोजक मिलन जिसीलगायतको उपस्थिति थियो ।

रास्वपाले ‘हामी आउँदैछौँ’ अभियानमार्फत जिल्ला तहमा पार्टीको उपस्थिति विस्तार गर्ने र स्थानीय तहको निर्वाचनअघि संगठनलाई सक्रिय बनाउने प्रयास गरिरहेको छ ।

बिर्तामोडका सबै वडामा परिषद् भेला सम्पन्न गरेपछि नगर समितिले वडा तहको संगठन विस्तार, कार्यकर्ता परिचालन र निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार ००:००  १ : २७ बजे