बिर्तामोड– प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी उत्कृष्ट पत्रकारका रूपमा सम्मानित भएका छन् । बिर्तामोड-५ स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १८ औँ वार्षिक साधारणसभाको अवसरमा राजवंशीलाई नगदसहित सम्मान गरेको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय राजवंशीलाई पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै वर्ष उत्कृष्ट पत्रकारका रूपमा सम्मान गरिएको संस्थाले जनाएको छ ।
साधारणसभामा उत्कृष्ट उद्यमीतर्फ लीला लिम्बू, उत्कृष्ट बचतकर्तातर्फ भीमबहादुर लिङ्देन, चेतराम दुलाल र सन्तोष साह तथा उत्कृष्ट कर्मचारीतर्फ रेनुका सुब्बालाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको साधारणसभाको बन्दसत्रले रिक्त दुई सञ्चालक पदमा अनिलकुमार साह र कर्णकुमारी प्रधानलाई सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचनका लागि अधिवक्ता खेमनाथ भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
अध्यक्ष गिरीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ सम्म संस्थामा १ हजार ५ सय १५ शेयर सदस्य छन् । संस्थाको शेयर पुँजी ८५ लाख ९२ हजार ४ सय रुपैयाँ रहेको छ ।
साधारणसभामा लेखा समिति संयोजक हरिप्रसाद दाहाल, उपाध्यक्ष टंकप्रसाद भेटवाल, सचिव इन्द्रनारायण श्रेष्ठ र निमित्त व्यवस्थापक सापकोटाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।



















