काठमाडौं-नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
शर्मा यसअघि विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए । त्यसअघि उनी कांग्रेसका महामन्त्री थिए ।
१४औँ महाधिवेशनमा शर्मा र हालका सभापति गगन थापा महामन्त्री निर्वाचित भएका थिए । त्यसयता दुवै नेता कांग्रेसको नेतृत्वमा प्रभावशाली भूमिकामा रहँदै आएका छन् ।
विशेष महाधिवेशनपछि १५औँ महाधिवेशनसम्म आइपुग्दा थापा र शर्माले पार्टीको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । थापा सभापति निर्वाचित भइसकेका छन् भने शर्माले वरिष्ठ उपसभापतिको जिम्मेवारी पाएका छन् ।
कांग्रेसले १५औँ महाधिवेशनबाट विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरेको हो । यसअघि पार्टीमा दुई उपसभापतिको व्यवस्था रहेकामा संशोधित विधानअनुसार अब तीन उपसभापति रहने व्यवस्था गरिएको छ ।



















