बिर्तामोड– भैरहवाका अनिश थापाले तेस्रो मिस्टर कञ्चनजंघा राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेका छन् । बिर्तामोडमा बुधबार राति सम्पन्न प्रतियोगितामा ७५ केजी तौल समूहका थापा च्याम्पियन बनेका हुन् ।
बडी ग्यारेज शारीरिक सुगठन क्लबको आयोजनामा भएको प्रतियोगितामा थापाले उपाधिसँगै ५ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए । उनी रअ फिटनेस भैरहवाबाट सहभागी भएका थिए । थापाले यसअघि असोज ३ गते सम्पन्न छैटौँ मिस्टर भक्तपुर बडिबिल्डिङ च्याम्पियनसिपको उपाधिसमेत जितेका थिए ।
मिस्टर कञ्चनजंघाका विजेता थापाले आगामी नोभेम्बर १३ देखि १६ सम्म थाइल्यान्डको पटायामा हुने आईएफबिबी एसियन च्याम्पियनसिपमा सहभागी हुँदाको हवाई टिकट र बसोबासको सम्पूर्ण खर्चसमेत पाउने भएका छन् ।
प्रतियोगितामा ७५ केजीभन्दा माथिको समूहका झापा बिर्तामोडका ललित धिमाल दोस्रो भए । ग्यालेक्सी फिटनेसका धिमालले ३ लाख रुपैयाँ र प्रमाणपत्र पाए । अर्जुनधारा फिटनेसका योगेन्द्र अधिकारी तेस्रो हुँदै २ लाख रुपैयाँ पाए । नेपाल पुलिस क्लबका मोरङ पथरीका अजय मल्लिक चौथो भए । उनले १ लाख रुपैयाँ पाए ।
पाँचौँ भएका द व्यायामशाला इटहरीका शौरभ थापा मगरले ७५ हजार र छैटौँ भएका बुटवल फिटनेस एन्ड जिमका सुनिल आलेले ५० हजार रुपैयाँ पाए ।
महिलातर्फ काठमाडौंको पावर फिजिकल फिटनेसकी रिपु घर्ती च्याम्पियन बनिन् । उनले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाइन् । घर्तीले यसअघि थाइल्यान्डमा सम्पन्न ५८औँ एसियन बडिबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०२६ मा चौथो स्थान हासिल गरेकी थिइन् ।
महिलातर्फ धरानको हाम्रो व्यायामशालाकी गंगा मगर दोस्रो, बुटवलको किंग अफ फिटनेसकी चुनकुमारी पुन तेस्रो र बडी ग्यारेजकी मनकुमारी भट्टराई चौथो भए । उनीहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पाए ।
विजेतालाई बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईं, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशका अध्यक्ष आदित्य पराजुली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल, प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराई, अध्यक्ष पदम श्रेष्ठ र कार्यक्रम संयोजक राम दाहाललगायतले पुरस्कार प्रदान गरे ।



















