२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

निर्वाचन लक्षित गर्दै झापामा एमालेको ‘मिशन जागरण’ तीव्र



दमक-स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले झापामा ‘मिशन जागरण अभियान’ तीव्र बनाएको छ । पार्टीले जिल्ला र स्थानीय तहमा भेला, अन्तरक्रिया तथा छलफललाई सघन बनाउँदै नेता-कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा परिचालन गर्न थालेको हो ।

अभियानअन्तर्गत एमालेले झापा क्षेत्र नम्बर ५ मा पर्ने दमक क्षेत्रमा जिल्ला कमिटी तथा उपल्लो कमिटीका सदस्यहरूसँग अन्तरक्रिया गरेको छ ।

दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालले युवाहरूको आन्दोलन र त्यसपछि विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा राख्दै नेता–कार्यकर्तालाई जनतामाझ पुग्न आग्रह गरे ।

दाहालले सुशासनको मागसहित सुरु भएको युवाहरूको आन्दोलनलाई विदेशी शक्तिको प्रभावमा राष्ट्रियताविरोधी शक्तिले कब्जा गरेको आरोप लगाए ।

पुराना राजनीतिक दलहरूले ३५ वर्षमा केही नगरेको भन्ने भाष्य सामाजिक सञ्जालका अल्गोरिदममार्फत फैलाएर जनतामा भ्रम सिर्जना गरिएको उनको भनाइ थियो ।

उनले यस्ता भाष्यको प्रतिवाद गर्दै एमालेले गरेका काम र पार्टीको राजनीतिक दृष्टिकोण जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिए । एमालेलाई पहिलो र निर्णायक राष्ट्रिय शक्ति बनाउन नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने उनले बताए ।

कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले ‘मिशन जागरण’ अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पार्टी परिचालित भएको जानकारी दिए । उनले अभियानलाई प्रभावकारी बनाउँदै संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता एमाले क्षेत्रीय संयोजक नारायण गौतमले गरेका थिए । सहभागी नेताहरूले आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका गतिविधि सघन बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको एमालेको दमकस्थित पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार ००:००  ४ : २८ बजे