२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

अर्जुनधारामा भेट्रान्स फुटबल, विजेतालाई ५१ हजार



बिर्तामोड-झापाको अर्जुनधारामा ४० वर्षमाथिका खेलाडीबीच प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मिलडाँडा युवा क्लब अर्जुनधारा-११ को आयोजनामा असोज १७ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

अर्जुनधारा-११ को देउनिया खेलमैदानमा हुने प्रतियोगितामा बढीमा आठ टोली सहभागी हुनेछन् । विजेताले ५१ हजार १ सय ११ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका प्रत्येक खेलका उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ तथा फाइनलका विधागत उत्कृष्ट खेलाडीले जनही ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

विजेता तथा उत्कृष्ट खेलाडीका लागि थप ५ हजार रुपैयाँको ट्रफी, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकलाई ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खतिवडाले जानकारी दिए ।

प्रतियोगिताका क्याप्टेन टेकराज तिलिङले ४० वर्षमाथिका खेलाडीलाई सहभागी गराएर नकआउट प्रणालीमा खेल सञ्चालन गरिने बताए ।

खेल संयोजक खतिवडाका अनुसार प्रतियोगिताले भेट्रान्स खेलाडीलाई प्रतिभा प्रदर्शनको अवसर दिनुका साथै खेलकुदको विकास र स्थानीय समुदायमा सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगिता सञ्चालनका लागि ७ लाख ९० हजार २ सय २२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ । पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनामले प्रतियोगितालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार ००:००  २ : १० बजे