२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

अन्तर्राष्ट्रिय युवा दिवसमा बाह्रदशीमा मिनी म्याराथन



झापा-अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाह्रदशीले आयोजना गरेको मिनी म्याराथनमा २ सयभन्दा बढी धावक सहभागी भएका छन् । युवालाई खेलकुदसँग जोड्दै लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने र बाह्रदशीका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

बाह्रदशी गाउँपालिका-५ घोडामाराबाट वडा नम्बर ६ स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र बाह्रदशी डाँडासम्म २ दशमलव ५ किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा बाह्रदशीसँगै बिर्तामोड, भद्रपुर, हल्दिबारी, कनकाईलगायतका पालिकाबाट धावक सहभागी भएका थिए ।

प्रतियोगितामा बिर्तामोडका शिव कार्की प्रथम भए। इन्द्र मगर द्वितीय, सुकदेव टुडू तृतीय, मुक्साम लिम्बू चौथो र लक्ष्मण टुडू सान्त्वना स्थानमा रहे । विजेता तथा उत्कृष्ट धावकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

रास्वपा बाह्रदशी गाउँपालिका सभापति सोमनाथ बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नागरिक समाज, विद्यार्थी तथा स्थानीयको सहभागिता थियो ।

सभापति बजगाईले युवामा बढ्दो लागुऔषध दुर्व्यसनको जोखिम न्यूनीकरणका लागि खेलकुदलाई माध्यम बनाइएको बताए ।

‘युवालाई सकारात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम हो,’ उनले भने, ‘खेलकुदमार्फत युवालाई दुर्व्यसनबाट टाढा राख्दै स्वस्थ र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्न सकिन्छ ।’

उनले बाह्रदशी डाँडालाई खेलकुद र पर्यटनसँग जोडेर यसको प्रचारप्रसार गर्ने उद्देश्यसमेत प्रतियोगितासँग रहेको बताए । स्थानीय ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

रास्वपा बाह्रदशीका सचिव हेमन्त पाण्डेले ‘स्वस्थ युवा’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार नियमित शारीरिक व्यायाम र खेलकुदलाई युवाको जीवनशैलीसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

‘स्वास्थ्यका लागि खेल आवश्यक छ । स्वस्थ नागरिक र सक्रिय युवा निर्माणसँगै बाह्रदशीका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा योगदान पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरेका हौं,’ पाण्डेले भने ।

विभिन्न पालिकाबाट धावकको उल्लेख्य सहभागिता हुनुले बाह्रदशीलाई खेलकुद र पर्यटनको गन्तव्यका रूपमा चिनाउने प्रयासलाई बल पुगेको आयोजकको भनाइ छ । आगामी दिनमा पनि युवालाई केन्द्रमा राखेर खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

आयोजक समितिका सदस्य चान मोहम्मदले अन्तर्राष्ट्रिय युवा दिवसलाई औपचारिक कार्यक्रममै सीमित नगरी युवाको स्वास्थ्य, सिर्जनशीलता, खेलकुद र सामाजिक सहभागितासँग जोड्नुपर्ने बताए ।

बाह्रदशी डाँडासम्म आयोजित मिनी म्याराथनले स्थानीयसहित छिमेकी पालिकाका युवालाई एउटै खेल गतिविधिमा जोड्नुका साथै प्रतियोगिताको गन्तव्य बनेको बाह्रदशी डाँडाको पर्यटकीय सम्भावनासमेत उजागर गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार ००:००  ७ : १९ बजे