विराटनगर-मोरङको रतुवामाईमा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबारराति भएको घटनामा प्रहरीको गोली लागेर दुई भारतीय घाइते भएका छन् ।
रतुवामाई नगरपालिका-६ शनिश्चरेमा राति करिब ९ः३० बजे लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँचका क्रममा गोली चलाएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान पेस्तोल र एक राउन्ड गोली बरामद भएको छ ।
गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् ।
दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
पक्राउ पर्ने अर्का व्यक्ति रतुवामाई-१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन् । दुईवटा मोटरसाइकलमा आएका उनीहरूलाई रोक्न खोज्दा भाग्ने प्रयास गरेका थिए ।
प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि आठ राउन्ड गोली चलाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
प्रहरीले घटनामा प्रयोग भएका दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनीहरूको कारोबार सञ्जाल र बरामद लागुऔषध तथा हतियारको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















