झापा– सहरबजारको फोहोर संकलन गरेर सामाजिक सेवामा जुट्दै आएका गणेश ढुङ्गानाले दसैँको अवसरमा झापाको बुट्टाबारीमा दुई सयभन्दा बढी विपन्न नागरिकलाई खाद्य सामग्री वितरण गरेका छन् ।
स्वच्छ समाजका लागि सामाजिक अभियानमार्फत सोमबार आयोजित कार्यक्रममा विपन्न परिवारलाई चामल, दाल, नुन र तेललगायत खाद्य सामग्री वितरण गरिएको हो ।
विभिन्न दाताबाट प्राप्त सहयोग र फोहोर संकलनबाट जुटेको रकमबाट खाद्य सामग्री जुटाएर वितरण गरिएको अभियानले जनाएको छ ।

फोहोर व्यवस्थापनलाई सामाजिक सेवासँग जोड्दै आएका ढुङ्गानाले कोरोना सङ्क्रमणपछि प्रत्येक वर्ष दसैँका अवसरमा विपन्न समुदायका नागरिकलाई खाद्य सहायता उपलब्ध गराउँदै आएका छन् ।
फोहोर संकलनबाट प्राप्त रकम र दाताको सहयोगमा असहाय तथा दिनदुःखीका लागि भवन निर्माण गर्ने उद्देश्यले बुट्टाबारीमा दुई कठ्ठा सातधुर जग्गासमेत खरिद गरिएको छ ।
‘फोहोर संकलन गरेर त्यसबाट जुटेको रकम असहाय र दिनदुःखीको सेवामा लगाउने हाम्रो उद्देश्य हो । विपन्न परिवारले पनि दसैँमा चाडपर्व मनाउन सकून् भनेर हरेक वर्ष खाद्य सामग्री वितरण गर्दै आएका छौँ,’ सामाजिक अभियन्ता ढुङ्गानाले भने, ‘असहाय नागरिकलाई आश्रय दिन सक्ने भवन निर्माण गर्ने लक्ष्य पनि लिएका छौँ । यसका लागि सबैको सहयोग आवश्यक छ ।’
फोहोर संकलनबाट सुरु भएको अभियानलाई असहाय नागरिकको सहयोग र भवन निर्माणसम्म विस्तार गर्ने ढुङ्गानाको प्रयासको स्थानीयले प्रशंसा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी शहीद ढुङ्गाना र विशेष अतिथि आशिष वनले ढुङ्गानाको व्यक्तिगत पहललाई सामूहिक सामाजिक सेवामा रूपान्तरण गर्ने कार्यले अरूलाई पनि प्रेरणा दिने बताए ।
कार्यक्रममा साहित्यकार तथा सामाजिक व्यक्तित्व लोकनाथ पौडेललगायतको आतिथ्य रहेको थियो । अभियानले खाद्य सामग्री वितरणलाई निरन्तरता दिँदै असहाय तथा दिनदुःखीका लागि भवन निर्माण गर्ने लक्ष्य अघि बढाएको छ ।
कार्यक्रममा ओली डिल्ली सुनिता प्रतिष्ठानले सहभागी सबैलाई खादा ओढाएर सम्मान गरेको थियो । प्रतिष्ठानले विपन्न समुदायका नागरिकलाई टीकासहित दक्षिणासमेत वितरण गरेको थियो । प्रतिष्ठानले स्वच्छ समाजका लागि सामाजिक अभियानलाई निरन्तर सहयोग गर्दै आएको छ ।



















