२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

सीसी क्यामेरा अभावमा बिर्तामोडको सुरक्षा निगरानी कमजोर



बिर्तामोड– झापाको बिर्तामोडमा सवारी दुर्घटना गराएर भाग्ने चालकको पहिचान गर्न प्रहरीलाई कठिन हुन थालेको छ । बजारका मुख्य चोकदेखि भित्री गल्लीसम्म निगरानी गर्दै आएका सीसी क्यामेरा तोडफोड भएपछि दुर्घटनामा संलग्न सवारीसाधन पहिचान गर्नेदेखि अपराध अनुसन्धानसम्म प्रभावित भएको हो ।

बुधबार बिर्तामोड-३ स्थित बिर्ताबजार क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक मजदुर घाइते भए । ठक्कर दिएर भागेको मोटरसाइकलको पहिचान अझै हुन सकेको छैन । घाइते मजदुरको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि असोज १ गते साँझ ७ः२३ बजे पत्रकार रमेश तिवारीलाई टाटाको योद्धा पिकअपले ठक्कर दिएर भागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक साता उपचार गराए ।

तिवारीको शरीरको दाहिने भागमा चोट लागेको छ भने करङसमेत भाँचिएको छ । अहिले उनी घरमै आराम गरिरहेका छन् । तर, उनलाई ठक्कर दिने पिकअपको पहिचान अझै हुन सकेको छैन ।

बिर्तामोडको मुख्य बजार क्षेत्रमा भएका यी दुई घटनामा संलग्न सवारीसाधन पहिचान हुन नसक्नुको एउटा प्रमुख कारण सीसी क्यामेराको अभाव हो ।

बजारको सुरक्षा निगरानीका लागि जडान गरिएका १२० वटा क्यामेरामध्ये अहिले १६ वटा मात्रै बाँकी छन् । तीमध्ये पनि कति सञ्चालनमा छन् भन्ने स्पष्ट छैन । प्रहरीका अनुसार निगरानी प्रणालीमा प्रयोग हुने आठवटा ठूला मनिटरमध्ये एउटा मात्रै सञ्चालनमा छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार सीसी क्यामेरा नहुँदा दुर्घटनामा संलग्न सवारीसाधन पहिचान गर्न र घटनास्थलको अवस्था विश्लेषण गर्न समस्या भइरहेको छ ।

‘हाम्रो चाहना दुर्घटना नै नहोस् भन्ने हो । तर, दुर्घटना भइसकेपछि संलग्न सवारीसाधन फरार भए त्यसलाई नियन्त्रणमा लिन कठिन भइरहेको छ,’ उनले भने ।

अहिले प्रहरीले घटनाको अनुसन्धानका लागि निजी घर तथा व्यावसायिक प्रतिष्ठानमा जडान गरिएका क्यामेराको फुटेजमा भर पर्नुपरेको छ । तर, सबै ठाउँमा क्यामेरा छैनन् ।

भएका क्यामेराको गुणस्तरसमेत पर्याप्त नहुँदा सवारीको नम्बर पहिचान गर्न कठिन हुने गरेको छ । पत्रकार तिवारीलाई ठक्कर दिएको घटना क्यामेरामा देखिए पनि नम्बर स्पष्ट नदेखिएकाले सवारी पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

बिर्तामोडको निगरानी प्रणाली ध्वस्त

बिर्तामोड बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने काम २०७५ सालमा तत्कालीन प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाको अगुवाइमा सुरु भएको थियो । कोशी प्रदेश सरकार, बिर्तामोड नगरपालिका र समुदायको सहयोगमा पहिलो चरणमा ६४ वटा क्यामेरा जडान गरिएका थिए । पछि थप गर्दै संख्या १२० पुर्‍याइएको थियो ।

मुख्य राजमार्गदेखि बजारका भित्री गल्लीसम्म क्यामेरा जडान गरेर इलाका प्रहरी कार्यालय अनारमनीबाट निगरानी गर्ने व्यवस्था मिलाइएको थियो । प्रहरी कार्यालयमा राखिएका मनिटरबाट बजार क्षेत्रमा हुने गतिविधि हेर्ने र शंकास्पद घटना भए तत्काल अनुसन्धान अघि बढाउने गरिएको थियो ।

तर, जेनजी आन्दोलनका क्रममा अधिकांश क्यामेरा तोडफोड गरिए । मुख्य राजमार्ग क्षेत्रमा जडान गरिएका क्यामेरा मात्रै होइन, निगरानी प्रणाली सञ्चालनका लागि प्रयोग गरिएको फाइबर लाइनसमेत काटियो । त्यसपछि बजारको सीसी क्यामेरा निगरानी लगभग ठप्प भएको छ ।

सीसी क्यामेरा सञ्चालनमा हुँदा बिर्तामोडमा भएका दुर्घटना, चोरी तथा अन्य घटनाको अनुसन्धानमा प्रहरीलाई उल्लेख्य सहयोग पुग्ने गरेको थियो । विशेषगरी दुर्घटना गराएर भाग्ने सवारीसाधन पहिचान गर्न क्यामेराको फुटेज उपयोगी हुने गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार ठूलो परिमाणमा सुन चोरीको घटनामा एक भारतीय नागरिकलाई पक्राउ गर्न पनि सीसी क्यामेराको फुटेजले सहयोग गरेको थियो । चोरीका सामान तथा हराएका झोला र अन्य सामग्री फेला पार्नसमेत क्यामेरा उपयोगी बनेको थियो ।

बजार क्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिको आवतजावत र गतिविधि पहिचान गर्न क्यामेराले सघाउँदै आएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको कार्यक्षेत्र पूर्वमा देउनिया पुलदेखि पश्चिममा सुरुङासम्म फैलिएको छ । ती क्षेत्रमा हुने गतिविधिको निगरानी गर्न सीसी क्यामेराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो ।

अहिले निगरानी प्रणाली कमजोर हुँदा प्रहरीको अनुसन्धान क्षमता मात्र होइन, सार्वजनिक स्थानमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने चुनौतीसमेत बढेको छ ।

बढ्दो सहरीकरण र जनघनत्वसँगै व्यापारिक गतिविधि विस्तार भइरहेको बिर्तामोडमा सीसी क्यामेरा सुरक्षा व्यवस्थाको आधारभूत आवश्यकता बनिसकेको छ । तर, वर्षौंदेखि सञ्चालनमा रहेको निगरानी प्रणाली ध्वस्त हुँदा त्यसको पुनःस्थापनाबारे ठोस पहल भएको छैन ।

दुर्घटनामा संलग्न सवारी पहिचान गर्न नसकिने र घटनाको प्रमाण जुटाउन कठिन हुने अवस्था कायम रहे यसले पीडितलाई न्याय दिलाउने प्रक्रियासमेत प्रभावित पार्न सक्छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  ११ : ११ बजे