बिर्तामोड-साहित्यकार नीता पोखरेलको पहिलो कथासङ्ग्रह ‘अनाम परिधि’ विमोचन गरिएको छ । झापाको बिर्तामोडस्थित सीपी पार्टी प्यालेसमा शनिबार आयोजित समारोहमा कवि मनु मञ्जिलको प्रमुख आतिथ्यमा कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।
रेडियो विराट एवम् सर्जक मञ्च झापाले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा सर्जकको बाक्लो उपस्थिति थियो । कथासङ्ग्रहको समीक्षा टीका आत्रेय र साइसेन पञ्धाकले गरेका थिए ।
कार्यक्रमको प्रस्तुति साहित्यकार लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा कथाकार पोखरेलका श्रीमान् अनन्त वस्तीले सहभागीलाई स्वागत गरेका थिए । वस्ती मेचीनगर नगरपालिकामा अधिकृतका रूपमा कार्यरत छन् । कार्यक्रम रेखा सापकोटाको अध्यक्षतामा भएको हो ।
कथासङ्ग्रह ‘अनाम परिधि’ मा १५ वटा कथा समेटिएका छन् । ‘नयाँ अध्याय’, ‘भाँडाको कोख’, ‘छली’, ‘भिसा वेथिति’, ‘प्यासेन्ट नम्बर एकचालिस’, ‘डिभोर्स सेलिब्रेशन’, ‘फिराद पत्र’, ‘अतृप्त प्यास’, ‘थिति नबसेको देश’, ‘एम्बुस’, ‘परस्त्री’, ‘निलोहार’, ‘अनाम परिधि’, ‘रूपान्तरण’ र ‘विवाहहेत्तर’ शीर्षकका कथा सङ्ग्रहमा समावेश छन् । सङ्ग्रहको नामसमेत राखिएको ‘अनाम परिधि’ यसभित्रको शीर्ष कथा हो ।
कृतिका विषयमा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. दीपेश घिमिरेले लेखकीय दृष्टिकोण र विषयवस्तुको प्रस्तुतिलाई महत्त्व दिएका छन् । उनले ‘अनाम परिधि’ लाई समाजका यथार्थलाई आख्यानको भाषामा अभिव्यक्त गर्ने सशक्त कृतिका रूपमा लिन सकिने उल्लेख गरेका छन् ।
समाजशास्त्रकी विद्यार्थीसमेत रहेकी पोखरेलको अध्ययनले कृतिलाई थप विशिष्ट बनाएको डा. घिमिरेको टिप्पणी छ । समाजलाई नजिकबाट बुझ्ने र त्यसका विविध पक्षलाई कथामार्फत प्रस्तुत गर्ने लेखिकाको शैलीको उनले प्रशंसा गरेका छन् ।
पहिलो कथासङ्ग्रहमार्फत पोखरेलले समाजका विभिन्न यथार्थ, सम्बन्ध र जीवनका अनुभवलाई आख्यानमा उतारेकी छन् । ‘अनाम परिधि’ उनको साहित्यिक यात्राको पहिलो कथाकृति हो ।



















