२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

झापामा दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय छनोट सुरु



२५ विधामा प्रतिस्पर्धा, करिब ७५० खेलाडी सहभागी हुने

भद्रपुर– आगामी मङ्सिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा २५ विधाका खेलमा प्रतिस्पर्धा सञ्चालन हुन लागेको हो ।

मेची रङ्गशालास्थित कभर्ड हलमा आयोजित उद्घाटन समारोहमा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले प्रतियोगिताको उद्घाटन गरिन् ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोक्काले तेक्वान्दोका प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुआत गरेकी थिइन् ।

जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा करिब ७५० खेलाडी र एक सयभन्दा बढी प्रशिक्षक तथा निर्णायक सहभागी हुनेछन् । जिल्लास्तरीय छनोटबाट छानिएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्नेछन् ।

सीमित स्रोतसाधनका बाबजुद झापामा २५ विधाका खेल सञ्चालन गर्न लागिएको अध्यक्ष कँडेलले बताए । प्रतियोगितालाई व्यवस्थित, मर्यादित र पारदर्शी रूपमा सम्पन्न गरिने उनको भनाइ छ । उनले खेलाडी छनोटका लागि सहयोग गर्ने स्थानीय तह तथा सम्बन्धित पक्षलाई धन्यवाद दिँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

पहिलो दिन मेची रङ्गशालामा तेक्वान्दो र ब्याडमिन्टनका खेल सञ्चालन भएका छन् । कनकाईमा भलिबल र बुद्धिचाल तथा दमकमा बुद्धिचालका प्रतिस्पर्धा हुने समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

समितिका अध्यक्ष कँडेलका अनुसार भद्रपुरस्थित सेन्ट जेभियर्स स्कुलमा एथलेटिक्सका खेल हुनेछन् । दमकमा आईटीएफ कराते र बुद्धिचाल, कनकाईमा भलिबल, अर्जुनधारामा फुटबल, कराते, तेक्वान्दो र उसु तथा बिर्तामोडमा बक्सिङ, शारीरिक सुगठन, टेबलटेनिस र बास्केटबलका खेल सञ्चालन हुनेछन् ।

मेचीनगरमा क्रिकेटको छनोट प्रतियोगिता आयोजना गरिनेछ ।यसैगरी साइकलिङ, हक्की, रग्बी, पौडी, कुस्ती, सेपाकताक्रो र सुटिङका लागि दर्ता भएका खेलाडीले भने सिधै कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख तथा झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, करातेका पूर्वप्रशिक्षक मदन उप्रेती, तेक्वान्दो सङ्घ झापाका अध्यक्ष कुमार भट्टराईलगायतले खेलाडीलाई शुभकामना दिएका थिए ।

समितिकी उपाध्यक्ष लक्ष्मी देवानले स्वागत गरेको कार्यक्रम सदस्य इन्दु न्यौपानेले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  ७ : ३९ बजे