झापामा १० हजार ५०० हेक्टरमा चिया खेती, गत वर्ष ९ करोड ८५ लाख किलो उत्पादन
झापा-नेपाली चियाको गुणस्तर परीक्षण सहज बनाउन झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरसँगको समन्वयमा आयोजना गरेको चिया उद्योगी तथा सरोकारवालाको अन्तरक्रियाले प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।
हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा मात्रै चिया परीक्षण प्रयोगशाला छ । झापामै प्रयोगशाला स्थापना भए चियाको गुणस्तर परीक्षण, खाद्य सुरक्षा सुनिश्चितता र बजार विस्तारमा सहज हुने उद्योगी व्यवसायीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान कायम राख्न उत्पादनदेखि प्याकेजिङ र बजारीकरणसम्म गुणस्तरमा ध्यान दिनुपर्ने बताए । तयारी चियामा अखाद्य पदार्थको मिसावट रोक्न र खाद्य सुरक्षा मापदण्ड पालना गर्न उनले उद्योगी तथा व्यवसायीलाई आग्रह गरे ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका झापा कार्यालय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ वटा चिया उद्योग सञ्चालनमा छन् । गत आर्थिक वर्षमा झापामा ९ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो ।
जिल्लामा १० हजार ५०० हेक्टरमा चिया खेती हुँदै आएको छ । त्यसमध्ये ३ हजार ६०० हेक्टरमा साना किसानले खेती गरिरहेका छन् । चिया खेतीमा करिब तीन हजार किसान संलग्न छन् ।
अन्तरक्रियामा चियामा बाह्य पदार्थको मिसावट नियन्त्रण, गुणस्तर सुधार र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो । सहभागीले नेपाली चियाको विश्वसनीयता बढाउन गुणस्तर परीक्षण र खाद्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।



















