झापा– नेकपा एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीका प्रदेशदेखि स्थानीय तहसम्मका नेतृत्व र जनप्रतिनिधि सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिका अध्यक्ष-उपाध्यक्ष तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन् ।
बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको भट्टले बताए ।
यस्तै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा स्थानीय कमिटीले नै अध्यक्ष चयन गरी माथिल्लो कमिटीबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजाने निर्णय एमालेले गरेको छ ।
स्थायी कमिटीको निर्णयसँगै एमालेले तल्लो तहदेखि संगठनात्मक गतिविधि तीव्र बनाउने तयारी गरेको छ ।



















