झापा-झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गरामनीस्थित दुर्गा शक्तिपीठमा असोज २५ गतेदेखि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । बडादसैँको अवसर पारेर आयोजना हुने महायज्ञ असोज २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
दुर्गा शक्तिपीठमा अनादिकालदेखि पुराण वाचन हुँदै आएको जनाउँदै आयोजकले पछिल्लो १५ वर्षदेखि नियमितरूपमा महापुराण आयोजना गर्दै आएको जनाएको छ । गतवर्ष जेन्जी आन्दोलनका कारण पुराण सञ्चालन गर्न नसकिएपछि यसवर्ष पुनः महापुराण आयोजना गर्न लागिएको हो ।
महायज्ञको पहिलो दिन असोज २५ गते शोभायात्रा तथा पुराण समुद्घाटन गरिनेछ । सोही दिनदेखि पाठपारायण तथा कथा प्रवचन सुरु हुनेछ । असोज २६ गतेदेखि ३१ गतेसम्म बिहान ७ बजेदेखि मण्डप पूजन र पाठ प्रारम्भ हुनेछ ।
बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म कथा वाचन तथा साँझ ६ बजेदेखि राति ९ बजेसम्म सन्ध्याकालीन महाआरती र भजन आयोजना गरिने आयोजकले जनाएको छ ।
असोज ३० गते लक्षदीप प्रज्वलन तथा ३१ गते यज्ञ समापनसँगै तिलकप्रसाद वितरण गरिनेछ ।
दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समिति तथा पुराण मूल आयोजक समितिका सचिव नवराज भट्टराईका अनुसार धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै पीठको विकास र सामाजिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । उनका अनुसार आजीवन सदस्य वृद्धि तथा अक्षयकोष निर्माणलाई समेत महायज्ञसँग जोडिएको छ ।
महायज्ञको उद्घाटन जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले गर्ने कार्यक्रम छ । आचार्य पण्डित मुकुन्द नेपाल प्रमुख वाचक तथा आचार्य पण्डित मोहन घिमिरे उपवाचकका रूपमा रहनेछन् ।
महायज्ञ सञ्चालनका लागि अतिथि सत्कार, आर्थिक, कीर्तन मण्डली तथा धार्मिक संघसंस्था, गुरु-मण्डप तथा पूजापाठ, स्वयंसेवक र प्रचारप्रसार तथा साउन्ड-टेन्ट उपसमिति गठन गरिएको छ ।
आयोजकका अनुसार महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी दुर्गा शक्ति पीठको संरक्षण, सदस्य विस्तार, अक्षयकोष निर्माण र धार्मिक पर्यटन प्रवर्द्धनसँग जोड्ने तयारी गरिएको छ ।



















