११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

झापा २ प्रदेश ‘क’ सभापतिमा बुढाथोकी निर्वाचित



झापा-नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ सभापतिमा मनोज बुढाथोकी निर्वाचित भएका छन् । आइतबार भएको मतदानको मतगणनामा बुढाथोकी २३७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी देवीप्रसाद खरेलले ११७ मत प्राप्त गरे । सभापति पदमा बुढाथोकी र खरेलबिच प्रतिस्पर्धा भए पनि प्रदेश ‘क’का अन्य पदमा भने उम्मेदवारी निर्विरोध भएको थियो ।

बुढाथोकीले एक सय २० मतको अन्तरसहित खरेललाई पराजित गरेका हुन् । मतदानमा सहभागी क्षेत्रीय प्रतिनिधिहरूले बुढाथोकीलाई प्रदेश ‘क’को नेतृत्वको जिम्मेवारी दिएका छन् ।

बुढाथोकीले शनिबार मात्रै प्रदेश ‘क’ सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । बिर्तामोड-३ निवासी बुढाथोकीले कांग्रेस संगठनलाई निर्वाचनका बेला मात्रै सक्रिय हुने नभई निरन्तर जनतासँग जोडिने संगठनका रूपमा विकास गर्ने बताएका थिए ।

उनले वडा तहका कार्यकर्ता र जनताका समस्या नेतृत्वसम्म पुर्‍याउने, युवालाई नेतृत्वमा अर्थपूर्ण अवसर दिने तथा प्रविधिको प्रयोगमार्फत संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता जनाएका थिए ।

झापा क्षेत्र नं. २ मा कांग्रेसको संगठनात्मक गतिविधि यसपटक अधिकांश तहमा सहमतिको प्रयाससहित अघि बढेको देखिन्छ । यसअघि क्षेत्र नं. २ का २५ वडामध्ये २२ वटामा वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका थिए ।

बिर्तामोड-५ मा खुला र खसआर्य खुला क्षेत्रीय प्रतिनिधिका लागि तथा बिर्तामोड-३ मा वडा सभापति र खुला क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको थियो । अर्जुनधारा-५ मा पनि खुला क्षेत्रीय प्रतिनिधिका लागि मतदान भएको थियो ।

क्षेत्र नं. २ को प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा भने हेमराज खरेल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सभापति पदमा खरेलको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको प्रक्रिया अहिले विभिन्न जिल्लामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अत्यधिक वर्षाका कारण निर्धारित समयमा हुन नसकेका अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार ००:००  ११ : ०४ बजे