भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता हुँदै
भद्रपुर-झापाको भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना हुने भएको छ । नेपालमा ओझेलमा पर्दै गएको हक्की खेललाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर नगर हक्की संघले आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि भद्रपुर-९ स्थित पञ्चकन्या ज्योति माध्यमिक विद्यालयको पश्चिमपट्टिको खेलमैदान मर्मत सम्भारको कामसमेत सुरु गरिएको संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि संघले आवश्यक तयारी अघि बढाइसकेको जनाएको छ ।
प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक, नेपालका सात विभागीयसहितका टोली र आयोजकको एक टोली गरी १२ टोली सहभागी हुने संघका अध्यक्ष सरोज बस्नेतले बताए । प्रतियोगिता ‘फाइभ-ए-साइड’ ढाँचामा सञ्चालन गर्ने तयारी छ ।
प्रतियोगितालाई व्यवस्थित बनाउन संघले ३१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । आर्थिक, टिम व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रचारप्रसार, आवास तथा खाद्य व्यवस्थापन र सांस्कृतिकलगायतका उपसमिति गठन गरिएको छ । आवश्यकताअनुसार उपसमिति गठन गर्दै जाने संघले जनाएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शिल्ड तथा पदक र उपविजेताले एक लाख रुपैयाँ नगदसहित शिल्ड तथा पदक प्राप्त गर्नेछन् । प्रतियोगितामार्फत युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै खेलकुदमा आकर्षित गर्ने उद्देश्यसमेत राखिएको अध्यक्ष बस्नेतले बताए ।
प्रतियोगिताका लागि सरकारी तथा गैरसरकारी निकाय र उद्योग–व्यवसाय क्षेत्रसँग सहयोगको प्रस्ताव गरिएको संघले जनाएको छ । झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले प्रतियोगिताले हक्की खेलको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रतियोगिताको दोस्रो पुरस्कारको रकमसमेत सहयोग गर्ने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय टोलीको सहभागिताले भद्रपुरमा पहिलोपटक हुन लागेको यो प्रतियोगिताले नेपालमा हक्की खेलको सम्भावना र स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धासँग जोड्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि मैदान तयारीसँगै व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।



















