१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१-२३ मा महाधिवेशन गर्ने



काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णयसमेत गरिएको छ ।

शनिबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले छोटो समयभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाइएको जानकारी दिए । उनका अनुसार एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि उपलब्ध समयमै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको हो ।

‘असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुन्छ र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ,’ महतले भने, ‘हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो ।’

महतले अहिले पार्टी महाधिवेशनको तयारीलाई ‘आपत्कालीन मोड’ मा अघि बढाइएको बताए । पछिल्लो समयको वर्षाका कारण केही तयारी प्रभावित भए पनि केन्द्रीय कार्यालयले गर्नुपर्ने कामहरू अघि बढिरहेको उनको भनाइ छ ।

अधिवेशनलाई छिटोछरितो रूपमा सम्पन्न गर्न स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन सञ्चालनको अनुभव भएका व्यक्तिहरूको सहयोग लिने रणनीति बनाइएको छ । निर्वाचन समितिमार्फत निर्वाचन अधिकृतहरू एकदुई दिनभित्रै जिल्लामा पुग्ने महतले बताए ।

नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको विवरण अनलाइनमार्फत जिल्ला हुँदै वडा तहसम्म पठाइनेछ । आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेका व्यक्तिले असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको महतले जानकारी दिए ।

वर्षाका कारण कुनै वडामा असोज १५ गते अधिवेशन गर्न नसकिए सम्बन्धित निर्वाचन अधिकृतले जिल्ला संयोजन समिति र जिल्ला समितिसँगको समन्वयमा मिति तय गर्न सक्नेछन् । स्थानीय परिस्थिति हेरेर त्यस्ता वडामा असोज १६ वा १७ गतेसम्म अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार ००:००  ५ : ४३ बजे