बिर्तामोड-भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहतका लागि अखिल नेपाल महिला संघ (अनेमसंघ) झापा जिल्ला समितिले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
अनेमसंघ झापाकी अध्यक्ष लीला दाहालका अनुसार उक्त रकम अनेमसंघ केन्द्रीय कमिटीमार्फत प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिनेछ ।
सोमबार बिर्तामोडमा आयोजित जिल्ला स्तरीय सामाजिक सुरक्षा, संगठन तथा सदस्यता विषयक एकदिने प्रशिक्षण कार्यक्रममा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरिएको हो ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, कोशी प्रदेश समिति सचिव दुर्गा काफ्ले, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, केन्द्रीय सदस्य जलवर्षा राजवंशी र जिल्ला उपाध्यक्ष शिव ढुंगेलले शुभकामना मन्तव्य दिएका थिए ।
प्रशिक्षणमा मेनुका काफ्ले र हेमकला कट्टेलले सहजीकरण गरेका थिए। अनेमसंघ झापा अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जानुका न्यौपानेले गरेकी थिइन् भने सचिव कोपिला चौलागाईंले सञ्चालन गरेकी थिइन् ।
प्रशिक्षणमा झापा क्षेत्र नं. १, २ र ३ का अगुवा महिला कार्यकर्ताको सहभागिता थियो ।


















