विराटनगर– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकारले ३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्काल ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति प्रदेश सरकारले गहिरो दुःखसमेत व्यक्त गरेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार तथा राहतका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
प्रदेश सरकार विपद्को अवस्थामा संघीय सरकारसँग समन्वय गर्दै आवश्यक सबै सहयोगका लागि तयार रहेको मन्त्री शेर्पाले बताउनुभयो ।
मनसुन अझै सक्रिय रहेकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कोशी प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिलाई उच्च सतर्कता अपनाउनसमेत मन्त्रिपरिषद्ले निर्देशन दिने निर्णय गरेको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान तीव्र पार्न प्रदेश सरकारले तत्काल आर्थिक सहयोग घोषणा गरेको हो ।


















