११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

शिवगञ्जमा भदौ २० गते बृहत् श्रीकृष्ण रथयात्रा



शिवसताक्षी– झापाको शिवसताक्षी-६, शिवगञ्जमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ २० गते बृहत् श्रीकृष्ण रथयात्रा आयोजना हुने भएको छ ।

सनातन धर्म संवर्धन संस्थाको आयोजनामा हुने रथयात्रा बिहान १० बजे शिवगञ्जबाट सुरु हुने संस्थाका अध्यक्ष माधव अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

राधाकृष्णको मूर्ति राखिएको रथ शिवगञ्जबाट भेलानुनी, कटुवालचोक, जनता चोक, हवल्दारचोक, पाथीभरा मन्दिर, दुर्गा मन्दिर हुँदै शिवालय मन्दिरसम्म परिक्रमा गराइनेछ ।

रथयात्राका क्रममा भजनकीर्तन, संस्कृत मन्त्रोच्चारण तथा पूजाआजालगायत धार्मिक कार्यक्रम हुने आयोजकले जनाएको छ । त्यसअघि भदौ १९ गते साँझ गंगा आरती तथा भजन–कीर्तन आयोजना गरिनेछ ।

रथयात्रासहितका कार्यक्रमका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । शिवसताक्षी-६ का वडाध्यक्ष मनोज खुलालले वडाबाट ५० हजार रुपैयाँ सहयोग गरिने बताउनुभयो ।

शिवसताक्षी-५ का वडाध्यक्ष सिकिन पासवानले रथयात्रालाई धर्म वा जाति विशेषमा सीमित नराखी जिल्लाकै उत्कृष्ट धार्मिक उत्सवका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

आयोजकले स्थानीयवासी, संघसंस्था, युवा समूह तथा सम्पूर्ण नगरवासीलाई सहभागिताका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार ००:००  ३ : २३ बजे