झापा-रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीका कारण रसुवाको टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति नगर प्रमुख प्रसाईले दुःख व्यक्त गर्नुभयो । उहाँले विपद्को भयावह अवस्थाले आफू स्तब्ध भएको बताउनुभयो ।
‘विपद्को यो घडीमा प्रभावित नागरिकको उद्धार र राहत नै पहिलो प्राथमिकता हो,’ नगर प्रमुख प्रसाईले भन्नुभयो, ‘सरकारको उद्धार तथा राहत अभियानमा आवश्यक सहयोग गर्न र मानवीय सेवामा जुट्न सबै नागरिक, संघसंस्था तथा निजी क्षेत्रलाई आग्रह गर्दछु ।’
बिर्तामोड नगरपालिकाले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको दायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न स्थानीय तह, संघसंस्था तथा निजी क्षेत्रबाट उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम बढेको छ ।


















