ताप्लेजुङ-रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि पाथीभरा क्षेत्र विकास समितिले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
समितिको सोमबार बसेको चालु आर्थिक वर्षको पहिलो बैठकले उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले समितिले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै, सामाजिक गतिविधि, अनुदान तथा असहाय र अशक्त व्यक्तिका लागि आर्थिक सहायता उपलब्ध गराउन छुट्टै कार्यविधि बनाउने निर्णय पनि बैठकले गरेको छ ।
मेला–महोत्सव तथा खेलकुदलगायतका कार्यक्रममा सहयोग प्रदान गर्नसमेत आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाएर लागू गरिने समितिले जनाएको छ ।
समितिले विपद् व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थागत रूपमा सहयोग गर्ने नीति अघि बढाएको हो ।


















