बिर्तामोड– रसुवाको भोटेकोशी आसपास भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै साहित्य चौतारी झापाले बाढीपीडित तथा घाइतेको उपचारका लागि ३९ हजार ६ सय ६५ रुपैयाँ सहयोग गर्ने भएको छ।
साहित्य चौतारीको विस्तारित बैठकले संस्थागत रूपमा ३२ हजार ७ सय ६५ रुपैयाँ सहयोग घोषणा गरेको हो। हिकोला एन्ड कम्पनी, मित्र मेलवा गुरुकुल संगीत विद्यालय र नेपाल फिल्म सोसाइटी कोशी प्रदेश परिवारसमेतको तर्फबाट उक्त रकम घोषणा गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले जानकारी दिए।

बैठकमै पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूबाट थप ६ हजार ९ सय रुपैयाँ नगद संकलन भएको छ। संस्थागत घोषणा र व्यक्तिगत तथा समूहगत सहयोग जोड्दा कुल रकम ३९ हजार ६ सय ६५ रुपैयाँ पुगेको हो।
बैठकको सुरुवात बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका ज्ञात-अज्ञातप्रति चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनबाट गरिएको थियो। त्यसपछि मृतकप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
‘पर्वभन्दा ठूलो मानवीय संवेदना’
बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा सामाजिक संस्थाहरू आफ्नो दायित्वबाट पछि हट्न नहुने अध्यक्ष श्रेष्ठले बताए।
साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा सक्रिय संस्थाले विपद्का बेला सिर्जना र उत्सवसँगै समाजप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
‘यस्तो संवेदनशील अवस्थामा हामी केवल दुःख व्यक्त गरेर बसिरहनु हुँदैन। हाम्रो सामर्थ्यले भ्याएसम्म तन, मन, धन, लत्ताकपडा, खाद्यान्न, औषधि र आवश्यक सामग्री जे सकिन्छ, त्यही माध्यमबाट पीडितको सहयोगमा जुट्न आवश्यक छ।’
यसैबिच साहित्य चौतारीले राष्ट्र र समाज शोकमा रहेको भन्दै आगामी असोज १० गतेसम्म उत्सवमूलक कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ। साहित्य चौतारीको प्रेक्षालयमा समेत उक्त अवधिमा उत्सवमूलक कार्यक्रम सञ्चालन नगरिने श्रेष्ठले बताए।
तीज, लाखे नाचलगायत विभिन्न जातीय, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्वहरू नजिकिँदै गए पनि अहिले मानवीय संवेदनालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको हो।
‘हामी हाम्रा संस्कृति, परम्परा र पर्वहरूको पूर्ण सम्मान गर्छौं। तर आज हाम्रो स्पष्ट मान्यता छ, सबै पर्वभन्दा ठूलो मानवीय संवेदना हो,’ श्रेष्ठले भने।
विभिन्न संघसंस्था तथा समुदायबाट कार्यक्रमका लागि निमन्त्रणा आइरहे पनि वर्तमान परिस्थितिमा सहभागी हुन नसक्ने जानकारी आयोजकहरूलाई सम्मानपूर्वक गराइएको उनले बताए।
उनका अनुसार यो निर्णय संस्कृति वा पर्वको विरोध नभई विपद्मा परेका नागरिकको दुःखमा साथ दिने सामाजिक उत्तरदायित्व हो।
बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रहसमेत गरेको छ।


















