३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

नेतृत्व हस्तान्तरणको बहसमा ओलीको कडा प्रतिवाद : ‘अर्को महाधिवेशनसम्म अध्यक्ष छाड्दिनँ’



इलाम– नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियानमा लागेका नेता-कार्यकर्तामाथि कडा आक्रोश पोखेका छन् । उनले पार्टीको विधि र प्रक्रियाविपरीत अध्यक्ष हटाउने बहस चलाउनेहरूलाई ‘आवारा’, ‘उरन्ठेउला’ र अनुशासनहीन व्यक्तिको संज्ञा दिँदै पार्टीविरोधी गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

२१ फागुनको निर्वाचनमा झापा-५ बाट प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलोपटक गृहक्षेत्र आएका ओलीले शनिबार इलामको फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै अर्को महाधिवेशनसम्म आफूले अध्यक्ष पद नछाड्ने स्पष्ट पारे ।

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदलले नेतृत्व पुनर्गठन तथा अध्यक्षले पद छाड्नुपर्ने विषयसमेत समेटेर प्रतिवेदन तयार पारेपछि ओली असन्तुष्ट छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलबाटै आफूलाई नेतृत्व हस्तान्तरणको सुझाव आएपछि ओलीले त्यसप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका हुन् ।

‘अस्ति भर्खर पार्टीको महाधिवेशन भएको छ । हामीलाई पनि थाहा छ । कति वेला के गर्ने भन्ने पार्टीको विधि, प्रक्रिया र समय हुन्छ,’ ओलीले भने, ‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन् । अध्यक्ष हटाउने कुरा ठट्टा हो ?’

उनले पार्टीभित्र अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाउने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए । ‘उरन्ठेउलाहरू भेला भएका छन् । चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्,’ उनले भने, ‘के मजाक हो यो ?’

ओलीले पार्टीमाथि विपक्षीको तीव्र प्रहार भइरहेका बेला आफ्नै नेता-कार्यकर्ता नेतृत्व परिवर्तनको बहसमा लाग्नु असान्दर्भिक भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने समयमा अध्यक्ष हटाउने अभियान चलाइएको उनको आरोप थियो ।

‘जति वेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भएको छ, पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा यतिवेला अध्यक्ष हटाउँछ भनेको छ,’ ओलीले भने, ‘तर केही हुनेवाला छैन । यी सबै बेकारका कुरा हुन् ।’

अनुशासन नमान्नेलाई कारबाही

ओलीले केन्द्रीय समिति बैठकपछि एमालेभित्रको ‘अराजकता’ र ‘मनपरीतन्त्र’ अन्त्य गर्ने संकेत गरे । पार्टीमा बसेर पार्टीकै निर्णय र नेतृत्वविरुद्ध गतिविधि गर्न नपाइने भन्दै उनले अनुशासन उल्लंघन गर्नेहरूमाथि कठोर कदम चालिने चेतावनी दिए ।

‘यो अराजकता, मनपरीतन्त्र, पार्टीको विरोध गरेर हिँड्न पाइने, जे पायो त्यही स्टाटस लेख्न पाइने, यस्तो खालको हुँदैन,’ उनले भने, ‘पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ ।’

उनले पार्टीमा बस्न मन नलागे अर्को पार्टी रोज्न वा घरमै बस्न सकिने तर एमालेमा रहेर पार्टी अनुशासन उल्लंघन गर्न नपाइने बताए ।

‘पार्टी नफुट्दा पनि मत २८ लाखबाट १४ लाखमा झर्‍यो’

ओलीले एमाले नफुट्ने र नबिग्रिने दाबी गर्दै निर्वाचनमा पार्टीको मत घट्नुको कारणप्रति पनि असन्तुष्टि जनाए । उनका अनुसार विगतमा पार्टी विभाजन हुँदासमेत एमालेले करिब २८ लाख लोकप्रिय मत पाएको थियो । यसपटक पार्टी नफुट्दा पनि मत करिब १४ लाखमा खुम्चिएको उनले बताए ।

उनले पार्टीका नाममा रहेर अन्यत्र मतदान गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै कार्यकर्तालाई आफ्नो राजनीतिक निष्ठा स्पष्ट पार्न आग्रह गरे । ‘पार्टी नबदल्ने रे, भोट अन्त हाल्ने रे । अन्त भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुन्छ ?’ ओलीले भने, ‘हलो अर्काको जोत्ने, भात यहाँ खाने ? पद यहाँ चाहिने, काम अर्काको गर्ने ?’

एमालेभित्र ओलीको विकल्प खोज्ने बहस विस्तार भइरहेका बेला आएको उनको अभिव्यक्तिले नेतृत्व हस्तान्तरणको मुद्दामा तत्काल सम्झौता नगर्ने संकेत गरेको छ । महाधिवेशनले आफूलाई अध्यक्ष चुनेकाले निर्धारित प्रक्रियाबाहेक बीचमै नेतृत्व परिवर्तन स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार ००:००  ९ : १८ बजे