विराटनगर– उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका-४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले गरेको बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका १ सय ४३ भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल जाँच गर्दा एउटामा १३.७४५ किलोमात्र ग्यास भेटिएको थियो ।
मापदण्डअनुसार ग्यासको तौल नपुगेपछि उद्योगलाई तत्काल जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताए ।
अनुगमन गरिएका बाँकी ६३ सिलिन्डरमा समेत औसत १४.१८५ किलोमात्र ग्यास भेटिएको प्रशासनले जनाएको छ । यसबाट उद्योगले सिलिन्डरमा तोकिएको परिमाणभन्दा कम ग्यास भरेर बिक्री गरेको आशंका थप बलियो भएको प्रशासनको भनाइ छ ।
अनुगमनका क्रममा खाली सिलिन्डरको तौलमा समेत गडबडी भेटिएको थियो । १० वटा खाली सिलिन्डर जाँच गर्दा नौ वटाको फलामको तौल नै तोकिएको मापदण्डभन्दा १ सयदेखि १ सय ५० ग्रामसम्म बढी पाइएको कोइरालाले बताए ।
खाली सिलिन्डरको तौल बढी देखाएर ग्यासको वास्तविक परिमाण घटाएको भेटिएपछि उद्योगविरुद्ध थप कानुनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार यसअघि साउन २३ गते गरिएको अनुगमनमा समेत कोशी ग्यास उद्योग बन्द अवस्थामा भेटिएको थियो ।
अत्यावश्यक सेवामा पर्ने एलपी ग्यास उद्योग बन्द अवस्थामा भेटिएपछि प्रशासनले उद्योगसँग स्पष्टीकरण माग्दै कारबाही प्रक्रिया अघि बढाएको थियो ।
पछिल्लो अनुगमनमा भने उद्योगको ग्यास वितरणमै उपभोक्ता ठगिने गरी तौलमा गडबडी भएको भेटिएपछि प्रशासनले जरिवाना गरेको हो ।
प्रशासनले एलपी ग्यासको आपूर्ति, तौल तथा वितरण प्रणालीमा निगरानी बढाएको जनाएको छ। अनुगमनमा असहयोग गर्ने डिलर तथा व्यवसायीलाई समेत कारबाही गरिने प्रशासनको चेतावनी छ ।


















