२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

‘कार्यकर्ता लखेटेर पार्टी बलियो हुँदैन’



बिर्तामोड– नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीभित्र एकलौटी प्रवृत्ति हाबी भए कांग्रेस थप कमजोर बन्ने चेतावनी दिएका छन् ।

झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले पार्टीभित्र बृहद् एकता कायम गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई अभियानकै रूपमा अघि बढाइने बताए ।

भेलामा राष्ट्रिय राजनीति, राष्ट्रियता, कूटनीतिक सम्बन्ध, पार्टीभित्रको अन्योल तथा स्थानीय तह निर्वाचनलगायत विषयमा नीतिगत छलफल हुने उनले जानकारी दिए ।

पार्टीको आन्तरिक विवादतर्फ संकेत गर्दै सिटौलाले ‘कार्यकर्ता लखेटेर र गलहत्याएर राजनीति हुँदैन’ भन्दै नेतृत्वलाई सचेत गराए । विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोज्नु गलत भएको उनको भनाइ थियो ।

‘भदौ २२ सम्म शेरबहादुरको काखमा बस्ने, २५ गते सबै नष्ट गरो भन्न मिल्छ ?’ उनले प्रश्न गरे, ‘देउवासँग मेरा सयौं असहमति छन्, तर आपतमा सहयोग गर्नु राजनीतिक संस्कार हो ।’

निर्वाचन आयोग र सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवालाई पर्याप्त सुनुवाइको अवसर नदिई निर्णय गरेको भन्दै त्यसविरुद्ध पुनरावलोकनको प्रक्रिया अघि बढाइएको पनि उनले बताए।

सिटौलाले वर्तमान प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा पर्दापछाडिबाट शासन गर्न खोजेको आरोप लगाए। ‘स्टाटसले मात्रै देश चल्दैन,’ उनले भने, ‘संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदबाटै दिनुपर्छ।’

भदौ २३ र २४ का घटनाबारे मानव अधिकार आयोग र सरकारले गठन गरेको आयोगका प्रतिवेदनमा विरोधाभास देखिएको भन्दै उनले त्यसको बृहत् अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

कार्यक्रममा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, मदन बुढाथोकीभगिरथ पोद्दारले मन्तव्य राखेका थिए। डा. खगेन्द्रपाण्डव अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले गरेका थिए।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार ००:००  ३ : ०२ बजे