१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

मानवीय क्षति डरलाग्दो : द्वन्द्वमा मारिए २८ वटा हात्ती



भद्रपुर-झापामा मानव-हात्ती द्वन्द्व वर्षेनि जटिल बन्दै गएको छ । पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्, भने प्रतिशोध र द्वन्द्वका घटनामा २८ वटा हात्ती मारिएका छन् ।

वन क्षेत्रको अतिक्रमण, बस्ती विस्तार र हात्तीको परम्परागत आवतजावत मार्ग अवरुद्ध हुँदा द्वन्द्व नियन्त्रणभन्दा बाहिर जान थालेको वन अधिकारीहरूको निष्कर्ष छ ।

डिभिजन वन कार्यालय भद्रपुरका अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपाली गरी ८० जनाको मृत्यु भएको छ । यस अवधिमा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएको कार्यालय प्रमुख नथुनी यादव ले बताए ।

सबैभन्दा बढी मानवीय क्षति २०८० सालमा भएको थियो । त्यसवर्ष तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै पनि छ जनाले ज्यान गुमाएका छन् ।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइएको यादवले जानकारी दिए । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । २०८२ सालमा मात्रै छ वटा हात्ती मारिनु द्वन्द्व थप भयावह बन्दै गएको संकेत भएको वन कार्यालयको भनाइ छ ।

वन कार्यालयको अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार तथा २०८२ र २०८३ को हालसम्म छ/छ जनाको मृत्यु भइसकेको छ ।

प्रमुख यादवका अनुसार वन क्षेत्रको निरन्तर अतिक्रमण, मानव बस्तीको विस्तार, हात्तीलाई आकर्षित गर्ने कृषिबालीको बढ्दो खेती तथा परम्परागत हात्ती मार्ग (एलिफेन्ट करिडोर) बन्द हुँदै जानु द्वन्द्वका मुख्य कारण हुन् ।

झापाका बाहुनडाँगी, मेचीनगर, बाह्रदशी, कचनकवल, हल्दिबारी, भद्रपुरलगायत सीमावर्ती क्षेत्र हात्तीको उच्च जोखिममा पर्दै आएका छन् । स्थानीयवासीले रातभर जाग्राम बस्नुपर्ने, बाली र घरमा क्षति व्यहोर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ००:००  ३ : ०६ बजे