१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

चियाको निर्यातमा उल्लेख्य गिरावट



झापा-पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य गिरावट आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै आम्दानी पनि घट्दा मुलुकले करिब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गुमाएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भई तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ आम्दानी भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १५ हजार ३११ मेट्रिक टन चिया निर्यातबाट चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ आम्दानी भएको थियो ।

एक वर्षमै चिया निर्यात दुई हजार २६६ मेट्रिक टनले घट्दा आम्दानीमा ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँको कमी आएको भन्सारको तथ्याङ्कले देखाएको छ ।

प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार काँकडभिट्टा नाका हुँदै निर्यात हुने वस्तुमध्ये अलैँचीपछि चिया दोस्रो ठूलो निर्यातजन्य वस्तु हो ।

तर, नेपाली चियाको प्रमुख बजार भारत भएकाले त्यहाँको मूल्यमा हुने उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनले निर्यातमा प्रत्यक्ष असर परेको उनले बताए ।

नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा यही नाका हुँदै भारतीय बजार पुग्ने गरेको छ । पछिल्लो गिरावटले पूर्वी नेपालका चिया किसान, उद्योगी तथा निर्यात व्यवसायीलाई प्रत्यक्ष असर पार्नुका साथै मुलुकको वैदेशिक व्यापार सन्तुलनमा समेत दबाब बढाउने संकेत देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ००:००  २ : ३५ बजे