१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

भद्रपुरमा नगरस्तरीय हाजिरीजवाफमा सरस्वती मावि प्रथम



भद्रपुर– भद्रपुर नगरपालिकामा पहिलोपटक आयोजित प्रविधियुक्त माध्यमिक तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर-२ स्थित सरस्वती माध्यमिक विद्यालय प्रथम भएको छ ।

प्रथम भएसँगै विद्यालयले १५ हजार रुपैयाँ नगद, सम्मानपत्र, ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा भद्रपुर–१० को नेसनल मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल दोस्रो र भद्रपुर–७ को एमरल्ड एकेडेमी तेस्रो भए ।

दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १० हजार५ हजार रुपैयाँ, सम्मानपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो । ब्राइट स्टार, डोल्मा र प्रज्ञा स्कुललाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, भद्रपुर नगर समितिले शनिबार भद्रपुर-६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रम मा प्रतियोगिता आयोजना गरेको हो ।

नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २१ विद्यालय सहभागी भएको प्रतियोगिताको प्रारम्भिक चरणबाट ६ विद्यालय फाइनल चरणमा पुगेका थिए ।

समितिका अध्यक्ष हुतराज नेपाल (उत्तम) को सभापतित्व तथा भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष नीलम गोल्यानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो ।

प्रथम पुरस्कारका लागि कुमार भण्डारी, सुमन मैनाली र भवानी शिवाकोटी, दोस्रो पुरस्कारका लागि शिवकुमार राजभण्डारी तथा तेस्रो पुरस्कारका लागि चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले नगद सहयोग गरेका थिए ।

प्रतियोगितामा विष्णुदेव खतिवडाऋषि नेपाल निर्णायकको भूमिकामा थिए। सन्तोष घिमिरेले क्विज मास्टर तथा समितिका सचिव खेमराज नेपाल ले प्राविधिक जिम्मेवारी सम्हालेका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा, जिल्ला अध्यक्ष मोहनप्रसाद घिमिरे, समाजसेवी राजकुमार राई लगायतले शिक्षा, संस्कार र प्रतिस्पर्धात्मक सिकाइलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न दातालाई सम्मान गरिएको थियो । उपाध्यक्ष उदयप्रसाद खनाल ले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने फुलमुन एकेडेमीका विद्यार्थीले स्वागत नृत्य र निरज पोखरेल ले सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार ००:००  ८ : ५८ बजे