१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आगलागी पीडित शेयर सदस्यलाई सहाराको राहत



बिर्तामोड– दुई दिनअघि बिर्तामोड-५ को डाँडागाउँमा भएको आगलागीबाट घरबारविहीन बनेका आफ्ना तीन शेयर सदस्यलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले राहत उपलब्ध गराएको छ ।

संस्थाले शनिबार पीडित सदस्य कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घरमै पुगेर खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो । राहत संस्थाको इमर्जेन्सी रेस्पोन्स सेन्टर (ईआरसी) अन्तर्गत प्रदान गरिएको हो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपद्का कारण समस्यामा परेका सदस्यलाई तत्काल राहत उपलब्ध गराएर दैनिक जीवनयापन सहज बनाउन सहयोग गरिएको बताए ।

उनका अनुसार कुनै पनि सदस्य विपद्का बेला आधारभूत आवश्यकता र दुई छाक खानाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ईआरसी स्थापना गरिएको हो ।

बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायका अनुसार राहत प्याकेजमा चामल, दाल, तेल, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, झुल, भाँडाकुँडा, राइस कुकर तथा प्राथमिक उपचार सामग्री समावेश गरिएको छ ।

बिर्तामोड शाखा प्रमुख सागर ओझाले विपद्का बेला आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराइएको जानकारी दिए ।

सहारा नेपाल साकोस विपद् व्यवस्थापन उपसमितिका संयोजक हेमराज खड्काले सदस्यको दुःखमा साथ दिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने बताए ।

राहत हस्तान्तरण कार्यक्रममा कर्मचारी दुर्गाप्रसाद विक गहतराजसहित संस्थाका अन्य प्रतिनिधिको उपस्थिति रहेको थियो। राहत प्राप्त गरेपछि पीडित परिवारले कठिन परिस्थितिमा सहयोग गरेको भन्दै सहकारीप्रति आभार व्यक्त गरेका छन् ।

गत बिहीबार बिहान बिर्तामोड-५ को डाँडागाउँस्थित सुकुम्बासी बस्तीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक आशंका गरिएको छ। आगलागीबाट करिब ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार ००:००  ८ : ५७ बजे